Prakash Adhikari October 8, 2025

मस्कट(ओमान), २२ असोज । आईसीसी टी २० विश्वकप एसिया तथा इष्ट एशिया प्यासेफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमान क्रिकेट एकेडेमी १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए । गुल्शन झाले तल्लोक्रममा ६ बलमा ३ छक्कासहित महत्वपूर्ण २० रन बटुले ।

नेपालका अर्को ओपनर आसिफ शेखले २, कप्तान रोहित पौडेलले १६, दीपेन्द्रसिंह ऐरीले २०, सन्दीप जोराले ५ र कुशल मल्लले ४ रन जोडेका थिए ।

कुवेतको कसिलो बलिङ सामु नेपालका कुनैपनि ब्याटरले खुलेर खेल्न सकेनन् । नेपालको ब्याटिड. अपेक्षा भन्दा निकै खराब हुन गयो। कुनै समय त १०० रन पनि कटाउदैन कि भन्ने भय सिर्जना भएको नेपाली टिमको लागि १९ औं ओभरमा ब्याटिड.मा उत्रिएका गुल्शन झाले अलिकति आशा भरिदिए । १९ औं ओभरमा २७ रन जोडे पछि नेपाल मध्यम योगफलमा पुगेको हो ।सो ओभरमा गुल्शन झाले ३ छक्का र कुशल भुर्तेलले दुई चौका हानेर नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका थिए ।

आज कुवेतले निकै कसिलो बलिड. गर्यो । कुवेतका तीव्र गतिका बलर मोहम्मद अकिफ फारुकले तेस्रो ओभरमै अफसाइडको बल मिस गर्दै ओपनर आसिफ शेखलाई २ रनमा एलबीडब्लू आउट गरेका थिए ।

नेपाललाई रोक्ने क्रममा कुवेतका नविनराज राजेन्द्रानले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । अनुपदीपले २, मोहम्मद अस्लाम र मोहम्मद फारुकले १(१ विकेट लिएका थिए ।

Share Now