Prakash Adhikari October 10, 2025

होचिमिन्ह(भियतनाम), २३ असोज। एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरणमा नेपालले पुनः पराजय बेहोरेको छ।

भियतनामको होचि मिन्हस्थित गो डाउ स्टेडियम बिहीबार राति सम्पन्न समूह ‘एफ’को खेलमा घरेलु टोलीसँग नेपाल ३–१ ले पराजित भएको हो।

यस जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ। मलेसिया ९ अंकसहित शीर्ष स्थानमा छ। लाओसले ३ अंक जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा छ।

नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ को हार बेहोरेको थियो। भियतनामलाई दोस्रो जित दिलाउन नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले समान एक गोल गरे।

नेपालका लागि एक मात्र गोल सनिश श्रेष्ठले गरेका हुन्।

खेलको नवौं मिनेटमा लिङले गोल गर्दै भियतनामलाई अग्रता दिलाए। तर, आठ मिनेटमै पछि नै सनिशले नेपालका लागि बराबरी गोल फर्काए।

पहिलो हाफ बराबरीमै टुंगिएको खेलको दोस्रो हाफमा भने भियतनाम हाबी रह्यो। मान्हले ६७औं मिनेटमा र भान भीले ७२औं मिनेटमा गोल गर्दै भियतनामको जित सुनिश्चित गरे।

Share Now