Prakash Adhikari October 11, 2025

कोठमाडौं, २५ असोज । ओमानमा जारी आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ।

नेपाल, यूएई र ओमान समूह चरणबाट अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेका छन्।

नेपालले सुपर सिक्समा यूएई, कतार, सामोआ र ओमानसँग खेल्नेछ र ४ मध्ये ३ खेल जिते विश्वकपमा छनोट हुनेछ।

समूह १ मा शीर्षस्थानमा रहेको यूएई २ अंकका साथ सुपर सिक्समा प्रवेश गर्दा नेपाल समूह २ को विजेताका रूपमा २ अंक लिएर सुपर सिक्समा पुगेको छ । समूह ३ बाट ओमान विजेताका रूपमा ३ अंक लिएर अघि बढेको छ ।

 

समूह चरणमा खेलिसकेका टोलीहरू अब एकआपसमा खेल्नु पर्ने छैन । समूह चरणमा आफुले पराजित गरेको टोली पनि अगाडि बढे उक्त जितको २ अंक सुपर सिक्समा जोडिने प्रावधान छ ।

हाल सुपर सिक्सको अंकतालिकामा ओमान, नेपाल र यूएईको १ खेलमा २ अंक भइसकेको छ । नेट रनरेटका आधारमा ओमान पहिलो, नेपाल दोस्रो र यूएई तेस्रो स्थानमा छन् । कतार चौथो, जापान पाँचौं र सामोआ छैटौंमा छन् ।

नेपालको खेलतालिका

नेपालले सुपर सिक्सको पहिलो खेलमै यूएईसँग खेल्ने छ । नेपाल र यूएईबीचको खेल आइतबार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र बिहीबार ओमानसँग खेल्नेछ । नेपालले ४ मध्ये ३ खेल जितेमा शीर्ष ३ मा पर्दै विश्वकपमा छनोट हुनेछ । २ जित मात्र निकालेमा रनरेटले छिनोफानो हुन सक्छ ।

नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ । यूएई र नेपाल दुवै पछिल्लो समय राम्रो लयमा छन् र टेस्ट राष्ट्रलाई हराइसकेका छन् । त्यसकारण दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

नेपाल र यूएई – २६ असोज (४ः१५ बजे)

नेपाल र कतार – २७ असोज (८ः४५ बजे)

नेपाल र सामोआ – २९ असोज (८ः४५ बजे)

नेपाल र ओमान – ३१ असोज (४ः१५ बजे)

Share Now