Prakash Adhikari October 12, 2025

 

  • शरद केसी
    संवाददाता, बीबीसी न्यूज नेपाली

काठमाडौं, २६ असोज । जेन जी आन्दोलनपछि चर्किएको नेतृत्व परिवर्तनको मुद्दाबीच दुई दिन पछि सारिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको मितिबारे चर्को बहस हुने सङ्केत देखिएको छ। आइतबारदेखि गर्ने भनिएको बैठक चर्को मतभेदकै कारण मङ्गलवार थाल्ने गरी सारिएको छ।

संस्थापन पक्ष नियमित महाधिवेशन मङ्सिरमै सम्भव नहुने भन्दै केही महिनापछि गर्ने पक्षमा देखिन्छ।

कांग्रेसको विधानमा विशेष परिस्थितमा एक वर्ष थप गर्ने व्यवस्था छ। तर संस्थापन इतर खेमा त्यो मान्न तयार छैन।

त्यसैलाई मध्यनजर गरेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका निम्ति हस्ताक्षर सङ्कलन गरिरहेका छन्।

थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी ५० प्रतिशतभन्दा धेरैले हस्ताक्षर गरिसकेको दाबी गर्नुहुन्छ ।

कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्छन्।

बहुमतको बलमा विशेष कदम

तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउने व्यवस्था छ। कांग्रेस सभापति शेरबहादुरनिकट मानिने नेता तथा पार्टी प्रवक्ता प्रकाशशरण महतका भनाइमा तीन महिनापछि गर्दा केन्द्रीय समितिको नियमित समयावधि सकिने भएकाले विशेष महाधिवेशन वैध हुँदैन।

ूत्यसैले नयाँ पुस्तालाई समावेश गर्ने गरी सक्रिय सदस्यहरूको टुङ्गो लगाएर विभिन्न तहको अधिवेशन गर्न लाग्ने न्यूनतम समयभित्रै नियमित अधिवेशन गर्ने गरी साझा निष्कर्ष निकाल्छौँ,ू महत भन्नुहुन्छ ।

मङ्सिरभित्रै त्यो सम्भव नदेखिरहेको संस्थापन पक्ष वैशाखसम्म गर्ने विकल्पका निम्ति तयार रहेको बुझिएको छ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काले २०८३ सालको मङ्सिरमा महाधिवेशन गर्ने पक्षमा रहेका देउवा खेमाका नेताहरू वैशाखसम्म आइपुग्नु पनि मध्यमार्गी प्रस्ताव भएको बताएको संस्थापन इतर खेमाका नेताहरूले बताएका छन्।

ूमध्यमार्गी बाटो भनेकै मङ्सिरमा नियमित महाधिवेशन हो,ू देउवासँग सभापतिको चुनाव लडेका डा. शेखर कोइरालानिकट नेता गुरुराज घिमिरे भन्नुहुन्त, ूकिनकि वर्तमान नेतृत्वलाई बोकेर हामी फागुन २१ मा निर्धारित सम्भावित चुनाव र त्यो नभए सम्भावित आन्दोलनमा जान सक्दैनौँ।ू

केन्द्रीय समितिमा संस्थापन पक्षको बहुमत रहेको बताइन्छ। विशेष महाधिवेशन माग हुँदा तीन महिनाभित्र बोलाउने प्रावधानमा टेकेर मङ्सिरभित्र बोलाउन केन्द्रीय समिति तयार नभएमा के हुन्छ?

“नियत सफा भए तीन महिना कुर्नैपर्दैन। पहिल्यै बोलाउन सकिन्छ”, नेता घिमिरेले भने, “नत्र त हामीले महाधिवेशन बोलाउनुपर्ने हुन सक्छ, पुरानो नेतृत्वको बोझ हामी बोक्न सक्दैनौँ।”

संस्थापन पक्षका नेताहरू सक्रिय सदस्य वितरणदेखि अधिवेशनहरू मङ्सिरमा सम्भव नहुने भन्दै पछि सार्नुपर्ने बाध्यता रहेको बताउने गर्छन्।

“समय थप्ने प्रावधान छ, यो मङ्सिर नाघ्नै नहुने लक्ष्मण रेखा त होइन नि, नयाँ पुस्तालाई सक्रिय सदस्यता नदिएरै अधिवेशन गर्नु पनि कति जायज हो भन्ने प्रश्न छ”, प्रवक्ता महतको तर्क छ, “मङ्सिरसम्म गर्ने भनेर महामन्त्रीहरूलाई नै जिम्मा दिएको छ, अनि तयारी नपुगेपछि सभापतिलाई मात्र दोष दिन त भएन।”

तर केन्द्रीय सदस्य सिवाकोटी कतिपय जिल्लाहरूमा बारम्बार पत्राचार गर्दा पनि संस्थापन पक्षकै नेताहरूले अधिवेशन लगायतका प्रक्रिया रोकेको आरोप लगाउनुहुन्छ।

यही मङ्सिरभित्रै नियमित महाधिवेशन गर्ने इच्छा भएमा अझै पर्याप्त समय रहेको उहाँको भनाइ छ।

उहाँ नयाँलाई सक्रिय सदस्यता दिन १५ दिने अभियान चलाउन, एकै दिन वा एक-दुई दिन बिराएर सबै वडाको अधिवेशन गर्न र लगत्तै त्यसमाथि प्रदेश तहसम्मका अधिवेशनहरू गरेर एक महिनाभित्रै महाधिवेशन गर्न सकिने ठान्नुहुन्छ ।

केन्द्रीय समितिको बैठकले महाधिवेशनको तालिका बनाउन नमानेमा विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर असोज महिनाभित्रै दर्ता गर्ने संस्थापन इतर खेमाको तयारी छ।

“नियमित महाधिवेशन चुनावको मितिभन्दा पछाडि धकेल्ने र विशेष महाधिवेशन नगर्ने हो भने त्यो स्वीकार्य हुँदैन”, शिवाकोटी भन्नुहुन्छ, “त्यस्तो अवस्थामा विशेष महाधिवेशनको माग गरिरहेका ५० प्रतिशतभन्दा बढी हस्ताक्षरकर्ताहरूले केन्द्रीय कार्यालयमै टेन्ट लगाएर त्यहीँ नेतृत्व छान्छन्।”

विभाजनको बीउ

कांग्रेसका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकमा कतिपयले हस्ताक्षर अभियानको उद्देश्य तथा औचित्यलाई लिएर प्रश्न उठाएको नेताहरूले जनाएका छन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले त ुदुई जना महामन्त्रीले हस्ताक्षर अभियान चलाइरहेको र त्यसले पार्टीलाई फुट्ने स्थितिसम्म पुर्‍याइदिन सक्नेु चेतावनीपूर्ण अभिव्यक्ति नै दिनुभएको छ ।

प्रवक्ता महत पनि अहिले सङ्कटको समय रहेको र यस्तो बेला पार्टीलाई ध्रुवीकृत गर्ने बताउनुहुन्छ।

“निर्वाचन हुने अवस्था आयो भने तयारी गर्नुपर्छ, गाउँसम्म विभाजनको रेखा कोर्ने अनि आमनिर्वाचनमा जान्छु भन्ने? ” उहाँले भन्नुभयो, “त्यसैले अहिले कुनै पनि अनेकता र विभाजन ल्याउने कुरा गर्नुहुँदैन भन्ने धेरै साथीहरूको मत छ। अहिले हामी एक भएर जानुपर्छ।”

तर परिवर्तनको माग स्वीकार गर्ने मानसिकता बाधक भएपछि बाध्यतापूर्वक विशेष महाधिवेशनको माग गरिने हस्ताक्षर अभियान पक्षका नेताहरू बताउँछन्।

देशभरिका बहुमत महाधिवेशन प्रतिनिधिले वैधानिक व्यवस्थाअनुसार त्यसो गरिरहेको बताउने उनीहरू विभाजन र फुटको हल्ला चलाएर भ्रम फैलाउने प्रयास भएको आरोप लगाउँछन्।

तर केन्द्रीय सदस्य शङ्कर भण्डारीले वैधानिक रूपमा विगतमा पनि पार्टी नचलेको आरोप लगाउँदै ुअहिले प्रतिकूल अवस्थामा विधान र बहुमत(अल्पमतको कुरा गर्ने बेला नभएकोु बताउनुभयो।

“वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा महासमिति बैठकमा बहुमत साथीहरूको मत अहिले हस्ताक्षर गर्ने साथीहरूले केन्द्रीय समितिको एजेन्डा बनाउनुभएन। त्यसैले अहिले मेलमिलापको बेला हो”, भण्डारीले भन्नुभयो, “सभापति सहित हामी सबैले आआफ्नो कमीकमजोरीको समीक्षा गर्दै अहिलेको नेतृत्वको सम्मानपूर्ण बहिर्गमन अहिलेको आवश्यकता हो।”

उहाँले हस्ताक्षर अभियान विभाजनको बीउ बन्नेमा भने विश्वास गर्नुभएन। तर पार्टीको आन्तरिक जीवन र मूल चरित्रलाई स्खलित गर्ने षड्यन्त्रका सहयोगी पार्टीमा पनि रहेको बताउँदै नेता भण्डारीले भन्नुभयो, “पार्टी नै फुटाउने हैसियत कसैको छ जस्तो लाग्दैन, तर षड्यन्त्रको भुमरीमा पार्टी विगतमा पनि परेको र भोलि पनि पर्न सक्ने चिन्ता भने छ।”

Share Now