मस्कट(ओमान), २६ असोज । आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ।
आइतबार सम्पन्न सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो।
नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो। यो नतिजासँगै नेपाल विश्वकप छनोटमा नजिक नजिक पुगेको छ। समूह चरणबाटै दुई अंक ल्याएको नेपालले चार अंक पुर्याएको छ। ओमानको पनि समान अंक छ। यूएईक भने दुई अंकमा सीमित भएको छ।
आजको खेलमा यूएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। तर, दीपेन्द्रसिंह ऐरीले चमत्कारपूर्ण खेल खेले उने ९ रन दिँदै एक विकेट लिए। बाँकी दुई ब्याटर रन आउट भए।
खेलमा यूएईका अलिसान सराफुले सर्वाधिक ५८ रन बनाए। ४० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे। जोनाथन फिगी १९, धुर्व परासर ३२ र जाहिद अली ११ रनमा आउट भए।
ब्याटिड.मा कला प्रदर्शन गर्न नपाएका नेपालका दीपेन्द्रसिंह ऐरीले बलिड.मा चमत्कार गरे । युएईलाई रोक्ने क्रममा उनले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए। सोमपाल कामी, गुलसनकुमार झा र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो।
नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। टी–२० आईमा उनको यो नवौं अर्धशतक हो।
अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो।
कप्तान रोहितकुमार पौडेल २०, गुलसनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेनन्।
नेपाललाई रोक्ने क्रममा यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिए।


















