Prakash Adhikari October 13, 2025

काठमाडौं, २७ असोज । भोटेकोशी गाउँपालिकाको स्थानीय जेनजी समूहले अमेरिकी लगानीमा निर्मित ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैमा लिएको छ ।

जेन जी आन्दोलन सफल भएलगत्तै भोटेकोशी गाउँपालिकाको जेन जी समूहले सो आयोजनाबाट स्थानीयलाई १० शेयर सित्तैमा दिनुपर्ने माग सहित आयोजनाको कामकाज एक महिनासम्म बन्द गराएको थियो।

आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत निःशुल्क शेयर लेन–देनमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा ६ प्रतिशत शेयर दिने पुरानो सम्झौतामा ४ प्रतिशत थप गरी जम्मा १० प्रतिशत शेयर स्थानीय जलविद्युत् उत्पादन क्षेत्रका प्रभावित जनता समेटी लगानी गर्ने कम्पनीलाई दिने सहमति गरिएको उल्लेख छ।

सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् ।

यसअघि नै राजनीतिक दलका प्रतिनिधिसमेतको रोहबरमा आयोजनाले स्थानीयलाई ६ प्रतिशत शेयर दिने सम्झौता भएको थियो । तर भदौ २३–२४ गतेको जेनजी आन्दोलनको क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’को नाममा स्थानीयको एक समूहले आयोजना बन्द गराउँदै १० प्रतिशत शेयर निःशुल्क माग गर्यो ।

कम्पनीले १० प्रतिशत शेयर दिन तयार भएको तर निस्शुल्क भने दिन नसकिने बताएको थियो । त्यसैले एक महिनासम्म आयोजना बन्द थियो ।

तर आइतबार ‘भोटेकोशी जेनजी ग्रुप’ र भोटेकोशी पावर कम्पनीबीच १० प्रतिशत निःशुल्क सेयर लेनदेन सम्झौता भएको छ ।

‘भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड (दोस्रो पक्ष) ले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो,’ सम्झौता पत्रमा भनिएको छ, ‘दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनेको उल्लेखित १० प्रतिशत शेयर साबिक २०७१।०९।०९ को सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरियो ।’

निजी लगानी रहेका विद्युत कम्पनीबाट सित्तैमा शेयर हडप्ने यो प्रवृत्तिबाट जलविद्युतमा निजी लगानी गरिरहेका लगानीकर्ता त्रस्त बनेका छन् । भोटेकोशीको शेयर हडप्ने प्रकरणले भ्रष्टाचारको विरोध गर्ने र पारर्शिता तथा सुशासनको राग अलाप्ने जेनजी पुस्तालाई अर्काको लगानी लुट्ने समूहमा रुपान्तरण गर्ने जोखिम बढाएको छ ।

Share Now