- गनी अन्सारी र अशोक दाहाल
बीबीसी न्यूज नेपाली
काठमाडौं, २७ असोज । हमासले विगत ७ सय ३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई बुझाउने बताएको छ।
यसअघि जोशीको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरायलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरिसकेको छ।
मृत्यु भएको ठानिएका २८ जनाको शव सोमवारै हस्तान्तरण गरिने सम्झौता भएको इजरायली दाबी भए पनि जोशीसहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ।
इजरायली सेना र अन्तर्राष्ट्रिय रेडक्रसले चारवटा शव प्राप्त भएको पुष्टि गरेका छन्। तर ती शवको पहिचानबारे थप खुलाइएको छैन।
इजरायली सेनाले ती शवहरूलाई पहिचानका लागि न्याश्नल सेन्टर फर फरेन्सिक मेडिसिन पठाइने बताएको छ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली सेनाले सोमवार हस्तान्तरण गर्न लागिएका चार शवमध्ये जोशीको पनि हुन सक्ने जानकारी दिएको छ।
ूइजरायलस्थित नेपाली अवैतनिक महावाणिज्यदूत नद्दाब बेन यहूदालाई फोन गरेर चार जनामध्ये विपिनको पनि शव आउन सक्ने खबर गरेको रहेछ,ू उहाँले भन्नुभयो।
राजदूत पण्डितले इजरायली सरकारले परिवारलाई औपचारिक जानकारी दिएपछि मात्रै उहाँको मृत्यु भए नभएको आधिकारिक पुष्टि हुने बताउनुभयो।
परिवारको भनाइ ,नराम्रो खबर आयो
विपिनका ठूलोबुवाका छोरा (दाजु) किशोर जोशीले इजरेलबाट नराम्रो खबर आएको सोमवार बेलुका बताउनुभयो। परिवारसँग सम्पर्कमा रहेका इजरायली अधिकारीहरूले विपिनको अवस्थाबारे परिवारलाई जानकारी दिइसकेको उहाँले बताउनुभयो।
परराष्ट्र मन्त्रालले बन्दीहरूको रिहाइ र शव हस्तान्तरण प्रक्रियबारे निरन्तर जानकारी अद्यावधिक गरिरहेको जनाएको छ।
“हामीले इजरायलमा रहेका राजदूतलाई सम्बन्धित प्रशासनसँग विस्तृत जानकारी र आगामी कदमहरूबारे सम्पर्कमा रहन भनेका छौँ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।
परिवारलाई इजरायल नै बोलाएर शव हस्तान्तरण गरिने भएका कारण हमासले बुझाएका विदेशी नागरिकको शव बुझ्न केही दिने लाग्ने बताइएको छ।
दुई वर्षअघि हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी यसअघि इजरायली सेनाले परिवार र इजरायलस्थित नेपाली दूतावासलाई गराएको थियो।
हमासको नियन्त्रणमा बाँकी रहेका ४८ जनामध्ये २० जीवित र २६ मृत बन्धकको नाम हमासले इजरायली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा थिएन।
हमासले पहिलो चरणमा सात बन्धकलाई उत्तरी गाजाबाट र दोस्रो चरणमा १३ जनालाई दक्षिणी गाजाबाट मुक्त गरेको थियो। इजरायली सेनाले उनीहरू इजरायल पुगिसकेको जनाएको छ।
दुई पक्षबीच भएको सहमतिअनुसार इजरायलको हिरासतमा रहेका १ हजार ७ सय जना कैदी र २ सय ५० बन्धक मुक्त हुन लागेका छन्।
विपिन जोशीको परिवारलाई जानकारी
बन्धकहरू मुक्त हुनुअघि हमासले मृत र जीवित बन्धकहरूको सूची इजरायली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशी र अर्का एक बन्धकको नाम दुवै सूचीमा थिएन।
हमासले उपलब्ध गराएको सूची इजरायल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको राजदूत पण्डितले बताउनुभएको थियो ।
आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशीलाई, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पालाई र इजरायलमा राजदूत पण्डितलाई ग्रूप कलमा सहभागी गराएर इजरायली सरकारका प्रतिनिधिले पछिल्लो जानकारी गराएका थिए। स्थानीय समयानुसार सोमवार बिहान ७ः३० बजेतिर उक्त जानकारी गराइएको हो।
किशोर जोशीले पनि सामूहिक कलमा आफू सहभागी भएको र जीवित २० जनाको सूचीमा आफ्ना भाइ विपिन नरहेको जानकारी पाएको बीबीसीसँग पुष्टि गर्नुभएको छ।
“जीवित भनिएका २० जना बन्धकको सूचीमा विपिन छैनन् भनेर उहाँहरूले हामीलाई भन्नुभयो”, सामूहिक टेलिफोन कुराकानीमा सहभागी किशोरले बीबीसीसँग भन्नुभयो।
सन् २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २ सय ५१ जनालाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए।
इजरायलमा भएको आक्रमणमा १० नेपालीसहित १ हजार २ सय जनाको ज्यान गएको थियो।
विपिन कसरी पुगेका थिए?
अक्टोबर २०२३ को घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका विद्यार्थी थिए।
कञ्चनपुरका विपिन जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुई जना भने सकुशल थिए।
विपिन जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।
तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।
केही साताअघि हमासले तस्बिरसहित सार्वजनिक गरेको एउटा सूचीमा उक्त लडाकु समूहले जोशीको नाम पहिलो पटक समाविष्ट गरेको थियो। तर उहाँको अवस्था खुलाइएको थिएन।
गत वर्ष इजरायली सेनाले फेला पारेको एउटा भिडिओ फूटेजमा जोशीलाई गाजास्थित एउटा अस्पतालभित्र लग्दै गरिएको देखिएको थियो। उक्त भिडिओ नोभेम्बर २०२३ को थियो।
हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको अर्को भिडिओमा जोशीले आफ्नो परिचय दिनुभएको छ।
हमास र इजरायलले सङ्घर्षविराम गर्ने तयारी गरेपछि जोशी परिवारले उहाँ जीवित रहेको प्रमाण भन्दै उक्त भिडिओ सार्वजनिक गरेको थियो।
केकस्ता पहल भए?
गत साता उहाँको नेपालस्थित परिवारले विपिन जोशी छिट्टै रिहामुक्त भई आफ्नो सम्पर्कमा आउने आशा व्यक्त गरेको थियो।
उहाँका बुवा महानन्द जोशीले हमासलाई युद्धविरामका लागि सहमत गराउने प्रयास सुरु भएसँगै विपिन सकुशल घर फर्किने आशा बढेको बताउनुभएको थियो।
“युद्धविरामको कुरा आएको छ फेरि। पहिलाझैँ हुने हो कि के हुने हो थाहा छैन। भगवान्ले कति पीडा दिएका हुन् ?”
जोशीको रिहाइका लागि पहल गर्न अन्तर्राष्ट्रिय जगत्सँग आह्वान गर्न भन्दै झन्डै एक महिनाअघि उहाँकी आमा पद्मा र बहिनी पुष्पा इजराउल जानुभएको थियो। त्यसपछि नेपाल फर्किएर उहाँहरू संयुक्त राष्ट्रसङ्घको महासभामा जोशीको मुक्तिको पहल गर्न अमेरिका जानुभयो।
नेपाल सरकारको तर्फबाट विपिन जोशीबारे कूटनीतिक पहलहरू हुँदै आएका अधिकारीहरूले बताउँदै आएका थिए।
नेपाली अधिकारीहरूका अनुसार सो विषयमा कतारदेखि इजिप्टसम्मका उच्च अधिकारीहरूलाई पहलका लागि आग्रह गरिएको थियो।


















