मस्कट(ओमान), २९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी २० विश्वकप एशिया तथा पूर्वी एशिया प्रशान्त छनोटका लागि ओमानको घरेलु टिमसंग खेल्न लाइनमा बसेको छ । तर यो खेल सुरु हुनुपूर्व नै आजका प्रतिस्पर्धी दुवै टिम विश्वकपका लागि छनोट भैसकेको शुभसमाचार सार्वजनिक भएको छ ।
यही चरणमा खेलिरहेका दुई खेलको नतिजा सार्वजनिक भएसंगै नेपाल र ओमानको पनि विश्वकप यात्रा सुनिश्चित भएको हो ।
तेस्रो खेलमा ओमानसँग खेल्नुअघि अन्य खेलका नतिजा आफू अनुकल आउदा नेपालले दुई खेल अगावै विश्वकपमा स्थान बनाएको हो । बुधबार कतारले जापानलाई तथा युएईले समोआलाई हराएपछि नेपाल र ओमान दुई खेल अघि नै विश्वकपको लागि योग्य भएका हुन । सुपरसिक्स चरणका हालसम्म दुई खेलबाट नेपाल र ओमानको समान ६ अंक छ । नेटरनेटका आधारमा ओमान शीर्षमा छ । नेपाल र ओमान दुवैले दुई दुई खेल खेल्न बाँकी छ भने युएई र जापानले एक एक खेल खेल्न बाँकी छ ।
अब युएई र जापान मध्ये एक टिमको मात्र ६ अंक पुग्नेछ । त्यसैले आजको खेल र समोआसंगको खेल हारे पनि नेपाललाई कुनै फरक पर्दैन । नेपाल र ओमानबीचको खेलको नतिजाले एक टिमको अपराजित यात्रा भने टुङ्गिनेछ । जित्ने टिम भने छनोटको च्याम्पियन बन्ने यात्रामा अघि बढ्नेछ ।


















