काठमाडौं, ३० असोज । जेनजी आन्दोलनले नेपालको शेयर बजारको सातो लिएको छ । यो साताको अन्तिम कारोबार दिन पनि नेपालको शेयर बजार ओरालो लागेर बन्द भएको छ ।
बिहीबार नेपालको धितोपत्र बजार परिसूचक १८.४० अंक घटेर २४८७.१७ विन्दुमा झरेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ११ स्टकको ७६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १५ करोड ३० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको १३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्को कारोबार ११ करोड रुपैयाँ नाघेको छ।
यस दिन नेपालको धितोपत्र बजारमा वर्गीकृत १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


















