मस्कट(ओमान), ३१ असोज। आईसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एशिया प्रशान्त छनोटको अपराजित च्याम्पियन बनेको छ ।
शुक्रबार अन्तिम खेलमा सामोआ विरुद्ध १ सय २४ रनको शानदार विजय निकाल्दै नेपाल समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर अपराजित च्याम्पियन बनेको हो ।
आजको खेलमा नेपालले दिएको २ सय १२ रनको विशाल लक्ष्य पछ्याएको सामोआ निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर ८७ रनमा समेटियो ।
समोआका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।
समोआलाई रोक्ने क्रममा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १ १ विकेट लिए ।
यस अगाडि टस हारेर ब्याटिड. गरेको नेपालले सामोआसामु २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
नेपालले सानदार ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो।
नेपलका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरूवात गरे। पहिलो पावर प्लेमा नेपालले ६१ रन जोड्यो।
पावर प्ले सकिए लगतै सातौं ओभरको चौथो बलमा १७ रन बनाएर कुशल सौमानी टियाईको बलमा बोल्ड आउट भए। उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे।
कुशल आउट भएपछि उपकप्तान दीपेन्द्र सिंह ऐरी क्रिजमा आए। आसिफले ४१ बलमा ७ चौका र ४ छक्का सहित ६९ रन जोडे । उनी नोआ मियाडको फुल टस बलमा डारियस भाइसरद्वारा क्याच आउट भए। टी २० आईमा आसिफको यो दशौं अर्धशतक हो।
टी २० आईमा आशिफको यो व्यक्तिगत सर्वाधिक उच्च स्कोर हो। यसअघि उनले वेस्ट इन्डिज विरुद्ध ६८ रन बनाएका थिए।
१२ ओभर ५ बलमा आसिफ आउट हुँदा नेपालले १ सय १० रन बनाएको थियो। आसिफ आउट भएपछि पहिलो पटक मौका पाएका आरिफ शेख आए। तर उनी मात्र ९ रनमा डारियस भाइसरको बलमा एलबिडब्लु धरापमा परे।
यसपछि दीपेन्द्रले ३१ औं बलमा ड्यानियल बुर्गेसलाई १७ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनको पनि टी २० आईमा यो दशौं अर्धशतक हो।
२ चौका र ४ छक्का सहित अर्धशतक बनाए लगतै दीपेन्द्र बुर्गेस कै बलमा ५३ रनना आउट भए। १ सय ६० रन जोड्दा नेपालले चौथो विकेट गुमायो।
दीपेन्द्र आउट भएपछि लोकेश बमले बिष्फोटक ब्याटिङ गरे। उनले १२ बलमा ४ छक्का र २ चौका सहित अविजित ३९ रन जोडे। उनको टी ट्वान्टी आई करियरको यो उच्च रन हो। यसअघि उनले ३३ रन बनाएका थिए।
अन्तिम ओभरमा सामोआका दुई खेलाडीले लोकेशको दुई वटा क्याच छुटाएका थिए। कप्तान रोहित पौडेल अविजित २१ रनमा रहे।
नेपाललाई रोक्ने क्रममा बलिङमा डारियस भाइसर, ड्यानियल बुर्गेस, सौमानी टियाई, नोया मियाडले १ । १ विकेट लिए।
नेपाल यसअघि नै विश्व कपमा छनोट भैसकेको छ।
नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जितेको हो ।
यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।
पछिल्लोपटक नेपालले सन् २०१४ मा आईसीसी डिभिजन चारको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो । २०१४ यता आईसीसीको आयोजनामा हुने छनोटलगायतका प्रतियोगिता नेपालले जित्न सकेको थिएन ।
नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । कुवेत समूह चरणबाट अघि नबढेकाले जापानसँगको जितको २ अंक बोकेर सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।
त्यसपछि दोस्रो खेलमा कतारविरुद्ध ५ रनको जित निकालेपछि नेपाल विश्वकपमा छनोट हुने लगभग पक्का भइसकेको थियो । त्यसपछिको खेलमा अनुकुल नतिजा आएपछि नेपाल २ खेल खेल्नुअगावै विश्वकपमा छनोट भएको थियो ।
तेस्रो खेलमा ओमानमाथि भने नेपालले ३८ रनको जित निकाल्यो र उपाधिकै नजिक पुगेको थियो ।
यस चरणको छनोटबाट नेपाल, यूएई र ओमान आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी २० विश्वकपमा छानिएका छन् ।


















