मुम्बई(भारत), २ भदौं । दीपिका पादुकोण र सलमान खानले पहिलो पटक भारतका चर्चित निर्देशक सञ्जय लिला भन्सालीले निर्माण गर्ने फिल्ममा मुख्य भूमिकामा देखिने भएका छन् ।
सञ्जय लिला भन्सालीको नयाँ फिल्म ‘इंशा अल्लाह’ मा सलमान र दीपिका पहिलो पटक एकसाथ देखिने भएका हुन् । भन्सालीले यो फिल्मको स्क्रिप्टको काम सुरु गरिसकेका छन् र, स्क्रिप्टको काम पूरा हुन साथ उनी फिल्मको स्टार कास्ट घोषणा गर्ने तयारीमा छन् ।
‘इंशा अल्लाह’ फिल्मको वर्किङ टाइटल हो । सलमानले फिल्म ‘रेस ३’ को प्रमोसनको बेला नै उक्त फिल्ममा काम गर्न लागेको बताएका थिए । अचेल फिल्म ‘भारत’ मा व्यस्त उनलाई फिल्मको स्क्रिप्ट मन परेको छ ।
भन्सालीको ‘गोलियोंकी रासलीला रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ फिल्ममा अभिनय गरिसकेकी दीपिकाले पनि ‘इंशा अल्लाह’ गर्ने लगभग पक्कापक्की भएको छ । २०२० सम्म फिल्म रिलिज हुने अनुमान छ ।
दीपिकाले आफ्नो अहिलेसम्मको करिअरमा सलमानसँग काम गरेकी छैनन् । उनलाई ‘किक’ र ‘सुल्तान’ अफर गरिएको थियो तर उनले दुवै फिल्म अस्विकार गरिन् ।
‘पद्मावत’ पछि उनले कुनै फिल्म साइन गरेकी छैनन् ।