Prakash Adhikari August 18, 2018

 

सानेपा(ललितपुर), २ भदौ । नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल विद्यार्थी संघको आयु संगठनको विधान अनुरुप नेपाली कांग्रेसले तीन महिना थप गरिदिएको छ ।

नेपाली कांंग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति प्रकाशित गर्दै यसको जानकारी दिनुभएको छ । नेपाली कांग्रेसले नयाँ निर्वाचनको लागि भनेर तीन महिनाको कार्यकाल थपेको हो । प्रेस विज्ञप्तिमा जनाइए अनुसार मंसीर २ गतेभित्र केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।

नेपाल विद्यार्थी संघको वर्तमान निर्वाचित कार्य समितिको नियमित कार्यकाल आज(भदौ २ गते) सम्म रहेको थियो ।

नेपाली कांग्रेसद्धारा प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ , नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन सम्पन्न गर्न पार्टीद्वारा गठित सहजिकरण संयन्त्रले नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन सम्पन्न गर्न ३ (तीन) महिनाको समयावधि थपगरिएको छ ।

पार्टीभित्रको अध्ययनरत सचेत युवाहरुको संगठन भएको हुनाले नेपाल विद्यार्थी संघको नेतृत्वमा पकड जमाउन पार्टीका विभिन्न धारका नेताहरुको होडबाजी रहने गर्दछ ।

खास गरि गत बर्ष सम्पन्न स्थानीय निर्वाचन पछि पार्टी नेतृत्वमाथि कार्यकताहरुमा विश्वासको आधार टुट्दै गएको छ । केही समय यता भएका नेपाल शिक्षक संघ, प्रजातान्त्रिक इञ्जिनियर्स एशोसिएसन, नेपाल टेड यूनियन कांग्रेस लगायतका संस्थामा संस्थापन पक्षका उम्मेदवारहरु पराजित भएकोले संस्थापन पक्ष नेपाल विद्यार्थी संघको निर्वाचन पनि गर्नेमा हैन। टार्नेमा पुगेको छ ।

पार्टीभित्रको जुझारु संगठनको रुपमा रहेको नेपाल विद्यार्थी संघलाई आफ्नो अर्को नभनेर लोकतन्त्रको हिमायती,सिंगो नेपाली कांग्रेसको भातृ संगठनको रुपमा विकास गर्नुपर्दछ भन्ने मान्यता बोकेका पार्टीका नेताहरुले समयभित्रै निर्वाचन गर्नका लागि दवाव दिन निर्वाचनको मिति समेत तोकेर कार्यालय समेत स्थापना गरेका थिए ।

त्यसलाई रोकेर सहमतिमा निर्वाचन गराउने म्यान्डेट सहित पार्टीले सहमहामन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सो समितिले नेपाल विद्यार्थी संघका वर्तमान अध्यक्ष नैनसिंह महरलाई अब म्याद थप्न मिल्ने ३ महिनाभित्र संघको महाधिवेशन गर्न सकिने कार्ययोजना भाद्र २ भित्र पेश गर्न समय दिएको थियो । तर वर्तमान नेतृत्व सो कार्ययोजना प्रस्तुत गर्न पनि असफल रह्यो र संगठनलाई वैधानिक बनाउन पार्टी आफै अग्रसर हुनुपर्यो ।

नेपाली कांग्रेसले सहमहामन्त्री डा.महतको संयोजत्वमा आन्तरिक संगठन र महाधिवेशन सहजीकरण संयन्त्र गठन गरेपछि सो संयन्त्रले महाधिवेशनको लागि आन्तरिक तयारी नपुगेको निश्कर्ष निकालेको थियो ।

नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले महाधिवेशनको तिथि मिति घोषणा गरी प्रतिनिधि चयनको काम समेत गरेकोले अहिले देशभर नेपाल विद्यार्थी संघको  महाधिवेशन प्रतिनिधिको लफडा उत्पन्न हुने अवस्था छ ।

आगामी तीन महिनामा यो आयु थपिएको केन्द्रीय कार्यसमितिले लफडा मिलाउन सक्ने अवस्था पनि देखिदैन ।

निर्धारित तीन महिनामा अधिवेशन हुन सक्ने संभावना किन कम छ भने दशै अगावै पार्टीको महासमितिको समेत बैठक गर्नुपर्ने छ । सत्तापक्ष विरुद्धको सडक संघर्षलाई गति दिनुपर्ने छ । यो बीचमा दशै, तिहार,छठ जस्ता चाडबाड पनि पर्दछन् ।

Share Now

Leave a comment.