Prakash Adhikari October 21, 2025

काठमाडौं, ४ असोज ।निर्वाचनमा मात्रै सरकारको ध्यान गएकोमा जेनजी आन्दोलनका घाइतेहरुले आपत्ति जनाएका छन् ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसंगको छलफलमा जेनजी आन्दोलनका घाइतेहरूले त्यस्तो आपत्ति प्रकट गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने आश्वासन दिनुभएको थियो।

उहाँले जनेजी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने बताउनुभयो। त्यस्तै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिनुभयो।

छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरुले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिँदै भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी दिएका थिए।

छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापित गरेपनि पुरानै संरचना कायमै रहेकाले काम गर्नका लागि असहज भइरहेको बताउनुभयो।

त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको कार्यप्रगतिबारे घाइतेहरुलाई अवगत गराउनुभएको थियो।

घाइतेहरुले जेनजीले उठाएका मुद्दाहरुमा भन्दा निर्वाचनमा मात्रै सरकारको ध्यान गएको भन्दै आपत्ति जनाएका थिए।

जेनजी आन्दोलनका क्रममा घाइते रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।

Share Now