Prakash Adhikari October 24, 2025

 

सिलोड.( अरुणाचल,भारत),७ कार्तिक । आज नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतको सिलोड.मा इरानसँग आमनेसामने हुँदैछ।

भारतमा सुरु भएको त्रिदेशीय मैत्रीपूर्ण खेलमा आफ्नो पहिलो खेल नेपालले इरानसंग खेल्न लागेको हो । त्रिदेशीय खेल नेपाल,इरान र आयोजक राष्ट्र भारतका बीचमा हुँदै छ । खेल शिलोङको जवाहरलाल नेहरू स्टेडियममा हुँदैछ।

पहिलो खेलमा इरानले भारतलाई २–० ले हराएको थियो । त्यसैले नेपालका लागि यो खेल सजिलो हुने छैन।

नेपाली महिला टोली नयाँ मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा नयाँ अध्याय सुरु गर्न लागेको छ। प्रशिक्षक न्यौपानेले भनेका छन्,‘इरान र भारतको खेल हेरेको थियौं। इरान एक कम्फर्ट जोनमा गइसक्यो। यो एक फ्रेन्डली खेल भन्दा पनि उपाधि लिएर जाने योजना छ। त्यसैले जित्ने लक्ष्य नै छ।’

युवा र अनुभवी खेलाडीको मिश्रण रहेको टोलीले शुक्रबारको खेल जितेमा उपाधि जित्ने सम्भवना उच्च हुन्छ। हारेमा इरान नै च्याम्पियन बन्ने छ। त्यसैले न्यौपाने २०१९ को गौरवमय लय दोहोर्याउने योजनामा देखिन्छन्।

६ वर्षअघि भुवनेश्वरको कलिङ्ग स्टेडियममा भएको एउटा खेल नेपाली महिला फुटबलका लागि इतिहास बनेको थियो। हिरो गोल्ड कप २०१९ मा नेपालले शक्तिशाली राष्ट्र इरानलाई ३–० ले हराएको थियो। त्यो अझै पनि नेपाली खेलप्रेमीको सम्झनामा ताजै छ।

उक्त खेलको ४१औं मिनेटमा अनिता बस्नेतले खाता खोलेकी थिइन्। त्यसपछि सवित्रा भण्डारी ‘साम्बा’ले ७९औं र ८९औं मिनेटमा लगातार दुई गोल गर्दै ३–० को जित पक्का गरेकी थिइन्। त्यो टोलीमा रहेका सवित्रा, अनितासहित सरु लिम्बू, हीराकुमारी भुजेल र अञ्जिला तुम्बाप्पो सुब्बाले अहिले पनि निरन्तरता पाइरहेका छन्।

 

Share Now