Prakash Adhikari October 27, 2025

काठमाडौं, १० कार्तिक। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ ।

आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।

छठ पर्व २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसंगतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।”

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ। सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ। राष्ट्रपति पौडेलले भन्नुभएको छ, “सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ।”

उपराष्ट्रपति यादवद्धारा सद्भाव अभिबृद्धिको कामना

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ।

छठ महापर्व(२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्, यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामनाका साथ पुनः हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।”

उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक व्रतालु उल्लेख गर्दै नहाय(खाय, खरना, अस्ताउँदो सूर्यलाई अर्घ्य र उदाउँदो सूर्यलाई अर्घ्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको बताउनुभएको छ। छठ पर्वले हामीलाई खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्ने उहाँको भनाइ छ।

सन्देशमा भनिएको छ, “अस्ताउँदो र उदाउँदो सूर्यदेवको पूजाआराधना गर्नु यो पर्वको विशेषता हो, सम्पूर्ण पृथ्वीलाई ऊर्जा र जीवन प्रदान गर्ने सूर्य देवता तथा परिवारजनको सुदीर्घ स्वास्थ्य प्रदान गर्ने छठी मैँयाको आराधनाले हामीलाई जीवनको स्रोतप्रति कृतज्ञ हुन सिकाउँदछ।”

निर्जला व्रत बसी नदी, तलाउ र जलाशयका पवित्र घाटहरूमा उभिएर अर्घ्य अर्पण गर्ने श्रद्धालुहरूको भक्तिभाव एवं आस्थाले मन, वचन र कर्ममा पवित्रता र शुद्धताको सञ्चार गर्ने विषय पनि शुभकामना सन्देशमा समावेश छ।

Share Now