कोलकोत्ता(भारत), १० कार्तिक । भारत र चीनबीच पाँच वर्षपछि प्रत्यक्ष हवाई उडान पुनः सुरु भएको छ। सोमबार भारतको कोलकाताबाट करिब १ सय ८० यात्रु लिएर इन्डिगो एयरलाइन्सको फ्लाइट ६ई(१७०३ सोमबार चीनको ग्वाङ्जाउ अवतरण भएको छ।
कोभिड महामारीको समयमा सन् २०२० को सुरुवातमै दुवै देशबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो।
त्यही वर्ष लद्दाखको गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच भएको हिंसात्मक झडपपछि उडानहरू फेरि पनि सुरू गरेका थिएनन् ।
तर अहिले दुवै देशबीचको सम्बन्ध क्रमशः सुधारिँदै गएको छ। गत वर्ष दुवै पक्षले सीमा क्षेत्रमा गस्तीसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
यस वर्ष अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि चीन भ्रमणमा गएका थिए र सोही महिनामा चीनका विदेशमन्त्री वाङ यी पनि भारत आएका थिए।
भारत सरकारका अनुसार उडान पुनः सञ्चालनले दुवै देशका नागरिकबीच प्रत्यक्ष सम्पर्क बढाउनेछ र ‘द्विपक्षीय सम्बन्धलाई बिस्तारै सामान्य बनाउन’ सहयोग गर्नेछ।


















