काठमाडौं, १२ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा सैनिक दबाबमा राजिनामा दिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनस्थापना गरेर घोषित मितिमै निर्वाचन गर्न सकिने प्रस्ताव अगाडि सार्नुभएको छ ।
राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स)को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा देशमा मडारिएको संवैधानिक तथा राजनीतिक संकट टार्नका लागि संसद पुनस्थापना गर्ने, संविधान संशोधन गर्ने, जेनजीसहितको सर्वदलीय सरकार बनाउने र घोषित मितिमा चुनाव गर्ने प्रस्ताव अगाडि सार्नुभएको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको विवरण अनुसार मानव अधिकारकर्मीहरुसंग एमाले अध्यक्षले यस्तो मार्गचित्र सार्वजनिक गर्नुभएको छ :
१. असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना
२. प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था
३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दावी नगरिने स्पष्ट
४. जेन–जीसहितको सहभागितामा सर्वदलीयरसर्वपक्षीय सरकार गठन
५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव
६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण
अधिकारकर्मीहरुसंग उहाँले जेनजी आन्दोलनबाट आफूलाई प्रधानमन्त्रीबाट हटाइएको भए पनि तिक्तता बढ्न नदिन पुनः प्रधानमन्त्रीको दाबी नगर्ने पनि छलफलमा स्पष्ट पार्नुभएको थियो ।
उहाँले प्रतिनिधिसभा पुनस्थापना पछि बनाइने सरकारले तीन महिनाभित्रै निर्वाचन गर्न सम्भव भएको र २१ फागुनकै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव भएको पनि बताउनुभएको थियो ।
संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरूबीच अग्रिम सहमति निर्माण गरिनु अपरिहार्य रहेको पनि निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले अधिकारकर्मीहरुलाई बताउनुभएको थियो ।








