Prakash Adhikari October 30, 2025

 

काठमाडौं, १३ कार्तिक । साताको अन्तिम कारोबार दिन नेपालको शेयर बजार बढेर बन्द भएको छ । यस दिन धितोपत्र बजार परिसूचक २४.२२ अंक २६००.३८ विन्दुमा पुगेको छ ।

 

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन २ सय ४९ स्टकको २ करोड ६० लाख १० लाख ७ सय १८ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार यही बजारमा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।

 

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन सूपर माई हाईड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीकोे शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो । त्यसैगरी, एनआईबिएल सवल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ । यस म्यूचुअल फण्ड ५।७० प्रतिशतले घटेको हो भने सानिमा ग्रोथ फण्डको इकाईमूल्य ५।२४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको संस्थापक शेयर सर्वाधिक बढेको छ । सो कम्पनीको यस दिन एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, राधी विद्युत कम्पनीको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ भने नेपाल रिइन्स्योरेन्स कम्पनीको ३४ करोड १० रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने म्यूचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

यस दिन हाईड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको हो । विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले बढेको हो ।

Share Now