- नूर नान्जी,संस्कृति संवाददाता
लण्डन(संयुक्त अधिराज्य), १४ कार्तिक (बीबीसी) । ब्रिटेनका राजकुमार एन्ड्रूले आफ्नो राजकीय उपाधि राजकुमार गुमाउनु हुने भएको छ।
एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टीनसँग घनिष्ठता भएको देखिएपछि छानबिनमा पर्नुभएका एन्ड्रुले राजकीय आवास रोयल लज पनि छाड्नुपर्ने भएको छ।
बकिङ्गम प्यालेसले बिहीवार बेलुका एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्सका भाइ अब एन्ड्रू माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ।
उहाँको निजी जीवनबारे अनेकौँ प्रश्न उठेपछि एन्ड्रूले ुड्यूक अफ योर्कुसहितका अन्य राजकीय उपाधिहरू यसअघि नै परित्याग गरिसक्नुभएको छ।
यही महिनाको आरम्भमा प्रकाशित संस्मरणमूलक पुस्तकमा भर्जिनिया जूफ्रेले आफूले किशोरावस्थामा राजकुमार एन्ड्रूसँग तीन पटक यौन सम्बन्ध राखेको दाबी दोहोर्याउनुभएको छ। उक्त पुस्तक मरणोपरान्त प्रकाशित भएको हो। एन्ड्रूले उक्त आरोप सधैँ खण्डन गर्दै आउनुभएको छ।
अहिले विकसित घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै जूफ्रेको परिवारले जूफ्रेले ूआफ्नो सत्य र असाधारण आँटका कारण ब्रिटिश राजकुमारलाई उपाधिविहीन बनाएकोू बताएको छ। जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गर्नुभएको थियो।
बकिङ्गम प्यालेसले के भन्यो ?
आफ्नो विज्ञप्तिमा राजदरबारले राजाबाट राजकुमार एन्ड्रूका राजकीय पद, उपाधि र सम्मानहरू हटाउने औपचारिक प्रक्रिया सुरु भएको जनाएको छ।
उहाँको राजकीय उपाधिसँगै राजकीय आवास छोड्नका लागि औपचारिक सूचना पनि दिइएको दरबारले जनाएको छ।
उहाँ राजा चार्ल्सले किनिदिएको ठानिएको सान्ड्रिङ्गम इस्टेटस्थित निजी आवासमा सर्ने हुनुभएको छ ।
एन्ड्रूले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका भए पनि यस्ता कारबाही आवश्यक भएको राजदरबारले जनाएको छ।
राजदरबारले सबै प्रकारका दुर्व्यवहारका पीडितमाथि आफ्नो साथ रहने जनाएको छ।
एन्ड्रूका दुई छोरी यूजनी र बीट्रिसको राजकुमारी उपाधि यथावत् रहने छ। एन्ड्रू अझै पनि राजसिंहासनको उत्तराधिकारीका लागि आठौँ स्थानमा हुनुहुने छ।
उहाँकी पूर्वपत्नी सेअरा फर्गसन पनि राजकीय आवासबाट बाहिर सर्ने र उहाँले आफ्ना लागि बस्ने व्यवस्था आफैँ गर्ने बुझिएको छ।
यही महिनाको सुरुसम्म सेअराले आफ्नो डचेस अफ योर्कको उपाधि प्रयोग गरिरहनुभएको थियो। तर एन्ड्रूले स्वेच्छाले ड्यूक अफ योर्कको उपाधि प्रयोग गर्न छाडेपछि उहाँले पनि राजकीय उपाधि हटाएर आफ्नो पुरानै नाम फर्गसन प्रयोग गर्न थाल्नुभएको हो ।
एन्ड्रूको राजकुमार उपाधि खोस्ने निर्णयमा सरकारसँग पनि परामर्श गरिएको र सरकारले यो निर्णयलाई स्पष्ट समर्थन गरेको बुझिएको छ।
यो समाचारबारे प्रतिक्रिया व्यक्त गर्दै सेअराले यो ग्रूमिङ र यौन दुर्व्यवहारका पीडितहरूका लागि निकै शक्तिशाली सन्देश भएको बताउनुभयो।
यो राजाले चालेको ठूलो कदम हो। प्रारम्भिक प्रतिक्रियामा म यति मात्रै भन्न सक्छु कि उहाँले चालेको कदमप्रति मेरो समर्थन छ।
केही सातादेखि राजपरिवारमाथि एन्ड्रूका सन्दर्भमा ठूलो दबाव परेपछि अन्ततः उहाँले बाँकी राजकीय उपाधिहरू पनि गुमाउनुभएको हो ।
जूफ्रेको संस्मरणमा यौन दुर्व्यवहारको आरोप प्रकाशित भएपछि राजकुमारको जेफ्री एप्स्टीनसँगको सम्बन्धको विषय पुनः बहसको विषय बनेको थियो।
एन्ड्रूले जूफ्रेसँग दुर्व्यवहार गरेको आरोप अस्वीकार गर्न निकै मेहनत गर्दै आउनुभएको थियो। एन्ड्रूले एप्स्टीनसँग आफ्नो सम्बन्ध पहिल्यै अन्त्य भएको दाबी गर्नुभएको थियो। तर फेरि बाहिरिएका सन् २०११ का इमेलहरूले उहाँ एप्स्टीनसँग सम्पर्कमा रहेको देखाए।
एन्ड्रूको जीवनशैलीको विषय पनि पछिल्लो समय चर्चाको विषय बनेको थियो। राजपरिवारमा कुनै कामको जिम्मेवारीमा नभए पनि उहाँले कसरी आफ्नो जीवनशैली व्यवस्थापन गरिरहनुभएको छ भन्नेबारे मानिसहरूले प्रश्न गरेका थिए।
एन्ड्रू सन् २००४ देखि रोयल लजमा बस्दै आउनुभएको छ। यसको स्वामित्व ुक्राउन इस्टेटुसँग छ। उक्त स्वायत्त सम्पत्ति व्यवस्थापन कम्पनीसँग ७५ वर्षका लागि करार सम्झौता गरेर उहाँ त्यहाँ बस्न थाल्नुभएको थियो।
विन्ड्जर स्टेटमा रहेको ुरोयल लजु दोस्रो श्रेणीको सूचीमा रहेको राजकीय आवास हो। गत साता मात्रै यसको भाडा सम्झौता बाहिरिएपछि उहाँले कसरी यस्तो महलमा बस्ने जीवनशैली धानिरहनुभएको छ भनेर प्रश्न उठेको थियो।
बीबीसीले हेरेको सम्झौतामा क्राउन इस्टेटसँग भएको करारअनुसार उहाँले अत्यन्त थोरै भाडा तिरे वा त्यो पनि नदिए हुने उल्लेख छ।
उक्त सहमतिको अर्थ वार्षिक भाडा तिर्नुको सट्टा राजकुमार एन्ड्रूले मर्मतसम्भार लगायतका कामका लागि एकमुस्ट ठूलो रकम तिर्दा पुग्थ्यो।
जेफ्री एप्स्टीन रोयल लजमा एन्ड्रूका पाहुना बनेर आएको विवरण पनि यसै साता सार्वजनिक भएको थियो।
राजकुमारी बीट्रिसको जन्मदिन मनाउन सन् २००६ मा एप्स्टीन त्यहाँ आउनुभएको थियो । त्यसको दुई महिनाअघि मात्रै उहाँलाई अमेरिकाले पक्राउपुर्जी जारी गरेको थियो। यसबारे सोधिएको प्रश्नमा एन्ड्रूले कुनै जबाफ दिनुभएको छैन ।


















