Prakash Adhikari November 1, 2025

दुबाई(संयुक्त अरब इमिरेट्स), १५ कार्तिक । आइसीसी विश्वकप लिग टु छनोट अन्तर्गत आज नेपाली राष्ट्रिय टिम र अमेरिकी टिमबीच भिडन्त हुँदै छ ।

खेल युएईको दुवाई अन्तराष्ट्रिय क्रिकेट एकेडेमी मैदानमा बिहान ११ः१५ मा हुने भएको छ ।

नेपाली टिम अक्टोबर २६ मा भएको खेलमा हुन गएको पराजयबाट पाठ सिकेर अमेरिकालाई हराउने रणनीतिमा छ । उता अघिल्लो खेलमा नेपाललाई अमेरिकासँग १ सय ६ रनले पराजित गरेको अमेरिकी टोली अपराजित यात्रा कायम राख्ने उद्देश्यको साथ मैदानमा उत्रिने तयारीमा छ ।

यस अगाडिको पहिलो भेटमा अमेरिकाले नेपाललाई जितको लागि २ सय ६३ रनको चुनौती दिएको थियो । तर ५० ओभरको खेलमा नेपालले ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा अल आउट भयो ।

खेलमा नेपालको सुरुआत नै खराब रहको थियो । ओपनर कुशल भुर्तेल दोस्रो बलमा कट बिहाइन्ड भए।

६९ रन जोड्दा नेपालले दोस्रो विकेटको रूपमा भीम सार्की आउट भए। उनी २९ रन जोडेर पबिलियन फर्किए। कमजोर सुरूवात गरेको नेपालले ६९ रनमा नै अर्को विकेट गुमायो। आसिफ शेख ३७ रनमा हर्मितको बलमा आउट भए।

नेपालको निरन्तर अन्तरालमा विकेट झरिरह्यो। नेपालले कुनै पनि समय साझेदारी बनाउन सकेन। कप्तान रोहित पौडेल मात्र २ रनमा शुभम रान्जानेको बलमा आउट भए। यसपछि आरिफ शेख २० रनमा र गुलशन झा ३ रनमा पेभिलियन फर्किए। १ सय ३८ रन जोड्दा नेपालले ७ विकेट गुमायो र नेपाल हार नजिक पुग्यो।

त्यसपछि पनि अमेरिकाले लगातार विकेट लियो। करण केसी २ रनमा र सन्दीप लामिछाने पहिलो बलमा खाता नखोली आउट भए। अन्तिम विकेटको रूपमा दीपेन्द्र आउट भए। नेपालको लागि उनले नै सर्वाधिक ४० रन जोडे।

नेपाललाई रोक्ने क्रममा अमेरिकाका हर्मित सिंहले ६ विकेट लिए भने शुभम रञ्जनेले २ विकेट लिए।

त्यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनाएको थियो ।

टी २० फम्र्याटमा वेष्ट एण्डिजको टिमलाई समेत पराजित गरेको नेपाली टिमले लिग २ को दोस्रो खेलसम्म एक दिवसीय खेलको लय समात्न सकेन । एक दिवसीय खेलमा ५० ओभर हुनाले खास गरी ब्याटरहरु धैर्यका साथ खेल्नुपर्छ । तर नेपालका ओपनर कुशल भूर्तेलको खेल आँधी बेहरी जस्तो हुन्छ । कहिले उनी अर्धशतक हान्न सक्छन भने कहिले डक आउट हुन्छन् । ओडीआई कसरी खेल्ने भन्ने प्रशिक्षण नेपाललाई अमेरिकाले पहिलो खेलमा दिएको थियो । अमेरिकी ब्याटरहरुले कहिल्यै बाउड्री खेल्ने हतार गरेनन् । उनीहरुको रन हेर्दा एक ओभरमा एउटा चौकाको प्रयास गर्ने नराम्रा बलहरु कि डट छोड्ने कि एक रन लिएर जोडीलाई मौका दिने गरेको देखियो । जसले चौका हान्दा क्याच आउट हुने जोखिम न्यूनीकरण गर्यो भने विकेट गिराउन असफल विपक्षीका बलर र फिल्डर थाकेपछि छक्का ठोक्ने अवसर सिर्जना गरायो । ब्याटरहरुले मैदान छोड्न नपरेकोले रन निकाल्न सजिलो भयो ।

त्यसको उल्टो नेपाली ब्याटरहरु सुरु बलमा नै छक्का र चौका हान्न जोशिए । धेरै क्याच आउटको शिकार भए । ५० ओभरको खेलका ३०० बलमा अमेरिकाको जस्तो एक ओभरमा राम्रो बल आएमा एउटा चौका वा छक्काको लक्ष्य लिएर धैर्यतापूर्वक खेलेमा नेपाली ओपनरहरुले नै डेढ सय रन निकाल्न सक्छन् । शीर्षक्रमका ब्याटरहरु धराशायी भएपछि बलरहरुले त्यसको भार थेग्न सक्दैनन् । नेपालको जितको लागि ओपनर कुशल भूर्तेलको जोडी टिक्न आवश्यक हुन्छ । अन्तिम क्रमका सन्दीप लामिछाने र ललित राजवंशीका हातमा ब्याट थमाउदा उनीहरुले एक दुई ओभर पनि धान्न सक्दैनन् । नेपाली टोलीका मुख्य प्रशिक्षक,कप्तान र अफिसियलहरुले यसमा ध्यान दिनैपर्छ । युएईसंगको खेलमा नेपालका कप्तान रोहित पौडेलले भने एक दिवसीय क्रिकेटको लय पक्रिए र शतक कटाए । त्यो कला वा सूत्र उनले कुशल भूर्तेल,आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, आरिफ शेख, भीम सार्की, सन्दीप जोरा, लोकेश बम, नन्दन यादव,कुशल मल्ल,करन के.सी.सबैलाई सिकाउन जरुरी छ ।

Share Now