काठमाडौं, १५, कात्तिक । बेमौसमी बर्षाको कारण भासिन गएको जोमसोम कागबेनी सडक मर्मत संभार पछि सञ्चालनमा आएको छ तर मेची राजमार्ग भने बर्षाको कारण बन्द भएको छ ।
निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ । विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सडक मर्मत गरेर केहीबेरअघिदेखि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छन् । अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सहज भएको छ ।
स्थानीय प्रशासनले कागबेनी—छुसाङ सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले राससलाई जानकारी दिनुभयो ।
मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित
बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् ।
सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाए पनि सडक भासिने क्रम रोकिएको छैन । “सडक खुलाउन हामी अहोरात्र खटेका छाँैं तर सडक भासिने क्रम रोकिएको छैन”, उहाँले भन्नुभयो ।
मेची राजमार्ग अवरुद्ध हँुदा इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका यात्री प्रभावित भएका छन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारी साधन गोलाखर्क भञ्ज्याङमा र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधन माईखोलामा रोकिएका छन् ।
वैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्गा सडक) अन्तर्गत बेलासेस्थित माईखोलाको पुल असोज १८ को बाढीले भाँचिएको र तिल्केनी–सिमलगोलाई सडक अन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा बिहीबारको बाढीले क्षति भएपछि इलामबाट झापा जाने यात्री पनि मर्कामा परेका छन् ।
–––


















