Prakash Adhikari November 1, 2025

दुबाई(संयुक्त अरब इमिरेट्स) १५ कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग २ छनोट अन्तरगत युएईमा भैरहेको खेलमा नेपालले अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७१ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए । करण केसीले अन्त्यतिर आक्रामक फिनिसिङ गर्दै ३१ बलमा ४९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

नेपाललाई रोक्ने क्रममा अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २ । २ विकेट लिए भने जसदीप सिंह र शुभम रन्जानेले १ ।१ विकेट लिए ।

युएईमा जारी शृंखलामा नेपालले यस अगाडि अमेरिका र युएईसंग खेलेको दुवै खेलमा जित निकाल्न सकेको थिएन । नेपालले पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनको फराकिलो हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । आज नेपालले ब्याटिड.मा प्रतिस्पर्धात्मक रन जोडेको छ । बलरहरुले राम्रो गर्न सके आज जित हुने संभावना बलियो । आजको जितले युएईसंग हुने खेल जित्न नेपालीलाई हौसला प्राप्त हुने छ ।

Share Now