दुबाई(संयुक्त अरब इमिरेटस्) ,१५ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
शनिबार भएको नेपालको तेस्रो खेलमा अमेरिकाले नेपाललाई ४ विकेटले पराजित गर्यो।
खेलमा टस हारेर पहिले ब्याटिड. गरेको नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ६ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा २ रन ७३ रन बनाएर पूरा गर्यो।
अमेरिकालाई जित दिलान शैताजा मुक्कामल्लले सर्वाधिक ७५ रन बनाए। १ सय १ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।
शैताजा मुक्कामल्ला र मिलिन्द कुमारले चौथो विकेटका लागि गरेको १ सय २३ रनको विशाल साझेदारी नै नेपालको हारको कारण बन्यो।
मिलिन्दले भने ६६ बलमा ७ चौका र १ छक्कासहित ७० रन बनाए। खेलमा सायन जाँहागिर ३६, शुभम रञ्जने १९ र समीत पटेल १६ रनको योगदान गरेका थिए।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ५३ रन खर्चिए। नन्दन यादव, करण केसी र गुलशनकुमार झाले समान १ । १ विकेट लिए।
अमेरिकालाई रोक्न नेपालका बलरहरुलाई निकै मुस्किल पर्यो । अमेरिकाको पहिलो विकेट १०.३ ओभरमा गिरेको थियो । त्यतिबेला उसले ५३ रन बनाएको थियो । दोस्रो विकेट ५९ रन बनाएको बेला ११.५ ओभरमा गिर्यो । तेस्रो विकेट ९५ रन बनाउदा २०.५ ओभरमा गिरेको थियो । त्यसपछि नेपाली बलरहरु चौथो विकेट झार्न निकै संघर्ष गर्नुपर्यो । अमेरिकाको चौथो विकेट ४२.५ ओभरमा २ सय १८ रन बनाएको अवास्थामा गिरेको थियो । त्यसपछि पाँचौ विकेट ४५.२ ओभरमा र छैठौ विकेट ४७.५ ओभरमा गिरेको थियो । नेपालले आज सोमपाल कामीको स्थानमा नन्दन यादवलाई मौका दिएको थियो । सोमपालले मौका पाएको भए उनले बलिड. र ब्याटिड. दुवैमा राम्रो गर्न सक्दथे ।
त्यसअघि दुबाईस्थित आईसीसी एकेडेमी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। ६७ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे।करण केसीले ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रन जोडे।ओपनर कुशल भुर्तेल ४७, भीम सार्की ४३ र कप्तान रोहितकुमार पौडेल ३६ रनमा आउट भए।नेपालले आशा गरेका ओपनर आशिफ शेख, मध्यम क्रमका ब्याटर आरिफ शेख र गुलशन झा मैदानमा टिक्न सकेनन । शेख दाजुभाइ २ । २ रनमा आउट भए भने गुलशनले जम्मा ५ रन जोडे । सोमपालको स्थानमा आएका नन्दन र ललित राजवंशीले जम्मा १ ।१ रन जोडे भने सन्दीप लामिछानेले ४ रन जोडे ।
यो सँगै लिग २ मा शीर्ष स्थानमा कायम रहेको अमेरिकाले २३ खेलबाट ३४ अंक पुर्याएको छ। १९ खेल खेलेको नेपाल १२ अंकसहित सातौं स्थानमा यथावत छ। अब नेपालले यो श्रृखलामा युएईसंग अन्तिम खेल खेल्न बाँकी छ । श्रृखलाका सबै खेल जित्ने नेपालको सपना अब सान्त्वना खेल जित्नेमा सीमित भएको छ ।








