काठमाडौं, १७ कार्तिक । काम चलाउ सुशीला कार्कीको सरकारले आफ्नो कार्यकालभरि वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, स्वास्थ्योपचार आदि कामका लागि विदेश जानुपर्ने नेपालीहरुलाई राहदानी उपलब्ध गराउन नसक्ने भएको छ।
राहदानी पुस्तिकाको अभाव भएको टिप्पणी र समाचारलाई सम्बोधन गर्ने क्रममा राहदानी विभागले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा काम चलाउ सरकारको लाचारी प्रतिबिम्वित भएको हो ।
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन भएकोले फागुन ११ तिर कर्मचारीहरु सबै निर्वाचनमा खटिनुपर्ने अवस्था हुन्छ । त्यतिबेला जिल्ला प्रशासन कार्यालयबाट राहदानी पाउन झन कठिन हुने अवस्था हुन्छ । यसैले चुनावी सरकारको कार्यकालभरि नेपालीहरुले राहदानी सजिलोसंग नपाउने निश्चित जस्तै भएको छ ।
विभागले एक विज्ञप्ति जारी गर्दै आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक)अत्यावश्यक राहदानी उपलब्ध गराउने जनाएको छ । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ ।
उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन गर्न विभागले सबैलाई आग्रह गरेको छ । राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न, त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले ध्यानाकर्षण गराएको छ ।