झापा, २२ कात्तिकः शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न सेमिफाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ ।
उपाधिको प्रबल दावेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइबेकरमा ४–२ गोलअन्तरले हराउँदै एपिएफ क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । एपिएफ क्लबले सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग उपाधिका लागि खेल्नेछ ।
खेलको सुरुआतदेखि आक्रामक देखिएका दुवै टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक रहेको थियो । पहिलो हाफ अवधिभर दुवैले कुनै गोल गर्न सकेनन् । खेलको ६३औँ मिनेटमा त्रिभुवन आर्मी क्लबले अग्रता लिन सफल भएको थियो । एपिएफकी डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा त्रिभुवन आर्मी क्लबकी चन्द्रा भण्डारीले सहजै गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाएकी थिइन् ।
इन्जुरी समयमा त्रिभुवन आर्मी क्लबकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपिएफले फ्रिकिक पाउँदा खेलले नयाँ मोड लियो । एपिएफकी कप्तान अनिता बस्नेतले गोल गरेपछि खेल १–१ बराबरीमा पुग्यो ।
निर्धारित समय खेल १–१ गोलको बराबरीमा टुङ¬्गिएपछि खेलको छिनोफानो टाइबेकरबाट भएको थियो । टाइबेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने रेनुका हमालको प्रहार त्रिभुवन आर्मी क्लबकी गोलकिपर कोपिला खड्काले सहजै रोकेकी थिइन् ।
यस्तै त्रिभुवन आर्मी क्लबकी विमला विक र अनिता लम्जेलले मात्र गोल गर्न सके भने विमला चौधरी र सुस्मिता चौधरीको प्रहारलाई एपिएफ क्लबकी गोररक्षक अञ्जना रानामगरले रोकेकी थिइन् । खेलमा एपिएफकी गोलकिपर रानामगर प्लेयर अफ दी म्याच घोषित भइन् । उनले रु १५ हजार र ट्रफी प्राप्त गरेकी छिन् ।
प्रतियोगिताको विजेताले रु १० लाख १० हजार र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।


















