हंगकंग(चीन), २३ कार्तिक। नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालको यात्रा टुंगिएपछि उनले सन्यास लिएका हुन् ।
नेपाल हङकङ सिक्सेस यात्रा समाप्त भएको छ । बउल लिगमा आज भएको खेलमा युएईसँग पराजित भएसंगै नेपालको हंगकंग सिक्सेस यात्रा समाप्त भएको हो । आज बिहान भएको खेलमा नेपाल युएईसंग ४३ रनले पराजित भएको थियो ।
शरदले यस प्रतियोगितापछि सन्यास लिने तयारी रहेकोले यो प्रतियोगितामा उनलाई कप्तान बताएर पठाइएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनलाई ‘गार्ड अफ अनर’ सम्मान दिइयो । शरदले पनि सामाजिक सञ्जालमा स्टाटस राख्दै ‘साइनिङ अफ’ भनेर लेखेका छन् ।
प्रतियोगिताका कप्तान रहेका शरदले समूह चरणका दुवै खेल खेलेनन् । उनले बाउल लिगको पहिलो खेलमा श्रीलंकाविरुद्ध खेले तर १ रनमै आउट भए । भारत र यूएईविरुद्ध पनि उनले खेलेनन् ।
श्रीलंकासँगको खेलबाहेक अन्य खेलमा सन्दीप जोराले नेपालको कप्तानी गरे। जोराले शरदप्रति सम्मान प्रकट गर्दै नेपाली क्रिकेटमा दिएको योगदानका लागि धन्यवाद दिएका छन् ।
३७ वर्षीय शरदले सन् २००२ मा नेपाली यु १५ राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए भने २००४ मा युएई विरुद्ध सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए ।
सन् २०१४ मा पहिलो पटक नेपाललाई टी २० विश्वकपमा छनोट गराउन अविस्मरणीय प्रदर्शन गरेका उनले २०१४ को नेपालको पहिलो टी २० विश्वकपमा खेलेका थिए ।
यस्तै सन् २०१८ मा नेपालको ओडिआई डेब्युमा पनि शरद टिममा थिए । उनले नेपाली क्रिकेटमा दुई दशकभन्दा बढी योगदान दिएका छन् । ।
सन् २०१४ मा शरदसँगै विश्वकप खेलेकामध्ये तत्कालीन पारस खड्का हाल नेपाल क्रिकेट संघ (क्यान)को सचिव छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल हाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक छन् । यस्तै विनोद भण्डारी र सोमपाल कामी अहिले पनि खेलमा सक्रिय छन् ।


















