चन्द्रगढी(झापा), २४ कार्तिक । एलभीडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । उपाधिका लागि दुई विभागीय टोली एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच भिडन्त हुने भएको छ ।
खेल झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतवार सम्पन्न प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
एपीएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै भने, ‘हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन । यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौँ ।’
एपीएफकी कप्तान अनिता बस्नेतले आफ्नो टोली सधैँ ट्रफीका लागि खेल्ने गरेको दावी गर्दै झापाको मैदानमा पुलिसलाई रोकेर उपाधि जित्ने बताइन ।
पुलिसका प्रशिक्षक भोला सिलवालले भने रेखा पौडेल र पूजा राना मगरको तालमेललाई टोलीको मुख्य बल बताउँदै भने, ‘हाम्रो टोलीमा धेरैपछि रेखा र पूजा सँगै खेलिरहेका छन् । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले यसपटक हामी एपीएफलाई हराउँदै उपाधि जित्नेछौँ ।’
पुलिसकी कप्तान अमृता जैशीले भने विगतका पराजयको बदला झापामै लिने दृढता प्रकट गरिन् । ‘हामीले विगतमा धेरैपटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यसपटक बदला लिँदै ट्रफी लिएर जानेछौँ । झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ,’ उनले भनिन् ।
एपिएफ क्लब महिला फुटबलमा एक सफल टोली हो। यसअघि खेलिएका अधिकांश राष्ट्रिय प्रतियोगितामा एपिएफले उपाधि जितेको छ । फाइनलमा कहिल्यै हार व्यहोर्नु नपरेको इतिहासले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ ।
त्यस्तै, पुलिस पछिल्लो समय बलियो स्क्वाड निर्माण गर्दै आएको छ । अनुभवी रेखा , पूजा जस्ता खेलाडीको पुनरागमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ ।
आजको खेलमा दर्शकको उपस्थिति पनि बलियो रहने अनुमान गरिएको छ ।
आयोजक समितिका अनुसार दर्शकका लागि टिकट दर सामान्यतर्फ ३ सय र ५ सय रुपैयाँ तथा भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।
विजेता टोलीले १० लाख १० हजार रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।








