Prakash Adhikari November 11, 2025

काठमाडौं, २५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । खेल तालिका अनुसार एनपीएल मंसिर १ अर्थात नोभेम्बर १७ मा सुरु हुने छ भने फाइनल खेल मंसिर २७ अर्थात डिसेम्बर १३ मा हुने छ ।

उद्घाटन खेलमा खेलमा साबिक जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिड्ने भएका छन्।

प्रतियोगितामा जनकपुर बोल्ट्ससँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज र पोखरा एभेन्जर्स गरी ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। गत संस्करणको फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

लिग चरणका खेलहरू नोभेम्बर १७ देखि डिसेम्बर ७ सम्म चल्नेछन्। खेलहरू दुई सत्रमा सञ्चालन हुनेछन्। पहिलो खेल बिहान ११ः४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

लिग चरणपछि डिसेम्बर ९ मा अंक तालिकामा शीर्ष र दोस्रो स्थान रहने टोलीबीच क्वालिफायर १ को खेल हुनेछ। त्यसपछि डिसेम्बर १० मा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर हुनेछ।

क्वालिफायर १ को पराजित र एलिमिनेटरको विजेता टोलीबीच डिसेम्बर ११ मा क्वालिफायर २ खेलिनेछ। यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोली फाइनल खेल्नेछन्।

 

सायद पाठ को फोटो हुनसक्छ

Share Now