Prakash Adhikari November 13, 2025
  • गनी अन्सारी
    बीबीसी न्यूज नेपाली

काठमाडौं, २७ कार्तिक । जेन जी आन्दोलनयता अझै फरार रहेका कैदीबन्दीहरूलाई आमनिर्वाचन अगावै फर्काउने गरी काम भइरहेको एक उच्च अधिकारीले बीबीसीलाई बताएका छन्।

उनीहरूको खोजी तथा पक्राउ गर्ने कार्यलाई अझ आक्रामक ढङ्गले अघि बढाइने कारागार व्यवस्थापन विभागका महानिर्देशकले बताउनुभएको हो।

त्यस्ता कैदीबन्दीमध्ये कतिपय कुख्यात अपराधीसमेत रहेका पृष्ठभूमिमा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टर्पोलमार्फत् रेडकर्नर नोटिस पनि जारी गरिने नेपाल प्रहरीका प्रवक्ताले बताउनुभयो।

विभागका अनुसार नेपाली र विदेशी गरी अझै पाँच हजार जनाभन्दा बढी कैदीबन्दी फरार रहेका छन्।

देशभरिका २८ वटा कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दीहरू फरार भएका दुई महिना नाघेको छ। गत भदौमा जेन जी आन्दोलनका बेला उनीहरू भागेका हुन्।

अहिले केके गरिँदै छ?

जघन्य अपराधमा संलग्न कैदीबन्दीहरूसमेत फरार रहेकोप्रति आफूहरू पनि चिन्तित बनेको अधिकारीहरू स्वीकार्छन्।

उनीहरूका अनुसार भदौ २६ यता विभिन्न प्रयास जारी रहेको र असोज १० गतेको निर्णयबमोजिम प्रत्येक जिल्लामा फरार कैदीबन्दीको हकमा खोजी, नियन्त्रण तथा पक्राउ कार्यदल गठन गरी काम भइरहेको छ।

सबै फरार कैदीहरूको अद्यावधिक सूची गृह मन्त्रालयमार्फत् परराष्ट्र मन्त्रालयलाई र त्यहाँबाट विदेशमा रहेका नियोगहरूलाई अनि नेपालमा रहेका विदेशी नियोगहरूलाई समेत पठाउने गरिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्मा बताउनुहुन्छ ।

“परराष्ट्र मन्त्रालयमार्फत् विदेशस्थित हाम्रा नियोगहरूमा र नेपालमा रहेका विदेशी नियोगहरूलाई पठाउने अभ्यास जारी राखेका छौँ”, बीबीसी न्यूज नेपालीसँग उहाँले भन्नुभयो ।

औपचारिक तथा अनौपचारिक रूपमा विदेशी नियोगका अधिकारीहरूलाई फरार कैदीबन्दीहरू कुनै खालको सेवा लिन आएमा जानकारी गराउन आग्रह गरिएको शर्माले उल्लेख गर्नुभयो।

बुधवार अमेरिकी दूतावास अधिकारीहरूसँग पनि सोही विषयमा कुराकानी भएको बताउँदै उहाँले भन्नुभयो, “भिसा वा अरू सेवा लिन आएमा त्यस्ता व्यक्तिहरूमाथि निगरानी राखेर सुरक्षा निकायमा खबर गरिदिन हामीले अनुरोध गरेका छौँ।”

केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी तथा हातहतियार फिर्ता ल्याउने अभियानलाई अझै आक्रामक बनाइने बताएका थिए।

उक्त प्रसङ्ग उल्लेख गर्दै महानिर्देशक शर्माले अगाडि भन्नुभयो, “सरकारले त्यसको तयारी गरिरहेको छ। अझै केही नतिजामुखी कदम चालिनेमा हामी ढुक्क छौँ।”

त्यसभित्र के इन्टर्पोलमार्फत् रेडकर्नर नोटिस पनि जारी गर्ने कदम पनि पर्न सक्ला भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “त्यो पनि पर्न सक्छ। रेडकर्नर नोटिस जारी गर्ने लगायतका प्रचलित कानुनले हामीलाई जति पनि क्षेत्राधिकार दिएको छ, ती सबै काम सम्बन्धित निकायहरूमार्फत् हामी गर्छौँ। त्यो नगरी नहुने पनि भएको छ।”

“फरार कैदी तथा लुटिएका हतियार फिर्ता ल्याउने सन्दर्भमा गृह मन्त्रालय अझ आक्रामक रूपमा अगाडि बढ्छ।”

चुनावअघि फर्काउने लक्ष्य

अधिकारीहरूले अझै फरार अवस्थामा रहेका सबै कैदीबन्दीहरूलाई आमचुनाव अगाडि नै फिर्ता ल्याउने लक्ष्य रहेको बताएका छन्।

“हाम्रो प्रयास त्यो दिशामै छ। त्यसै कारणले फरारमध्ये दुई तिहाइभन्दा बढी आइसकेका छन्। फागुन २१ होइन, त्योभन्दा अगाडि नै सबैलाई कानुनको दायरामा ल्याउने हाम्रो साझा लक्ष्य रहेको छ”, महानिर्देशक शर्माले भन्नुभयो ।

नेपाल प्रहरीले पनि सुरक्षा निकायहरू मिलेर फरार कैदीबन्दी तथा लुटिएका हातहतियार फिर्ता ल्याउने कार्य भइरहेको बताएको छ।

“खोजी तथा पक्राउ कार्यमा हामी लागिपरेका छौँ”,केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।

आवश्यकताअनुसार रेडकर्नर नोटिस जारी गरिने कुरा उहाँले पनि स्वीकार्नुभयो। “कुख्यात अपराधीहरूको हकमा रेडकर्नर नोटिस जारी गर्ने कुरा पनि हुन्छ। तर हाम्रो प्रयास आफैँले पक्राउ गर्ने भन्नेमा हुन्छ”, उहाँले अगाडि थप्नुभयो।

इन्टर्पोलसँग सहकार्य प्रक्रिया

अपराधीबारे अर्को देशबाट कुनै सूचनारजानकारी लिन आवश्यक पर्दा प्रहरीले इन्टर्पोलसँग समन्वय गर्ने गर्छ।

आपराधिक विषयमा सूचना आदानप्रदानबाहेक फरार अपराधीको हकमा इन्टर्पोलमार्फत्‌ सूचना जारी गर्ने अभ्यास पनि रहँदै आएको छ।

प्रहरीका अनुसार कुनै पनि आपराधिक घटना वा अपराधीबारे सूचना आदानप्रदानका लागि इन्टर्पोल एकअर्को देशका प्रहरीबीच सहकार्य गर्ने एउटा च्यानल हो।

सुरक्षाविद्‌हरूका अनुसार राजनीतिकसहित दुईतीनवटा विषयबाहेक अरू अपराधका विषयमा सूचना आदानप्रदान हुने गर्छ।

इन्टर्पोलका अनुसार हाल उक्त सङ्गठनका १ सय ९५ देश सदस्यका रूपमा रहेका छन्। सदस्य राष्ट्रमा इन्टर्पोल न्याश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) हुने गर्छ।

पछिल्लो तथ्याङ्क के छ?

अधिकारीहरूका अनुसार फरार भएका कैदीबन्दीहरूमध्ये कतिपयलाई गिरफ्तार गरी जेल फर्काइसकिएको छ भने कतिपयले आत्मसमर्पण गरेका छन्।

भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका बेला १४ हजार ५ सय ५४ जना फरार भएकामा ९ हजार ५ सय ४१ जना जेल फर्किसकेका कारागार व्यवस्थापन विभागले जनाएको छ।

हाल फरार रहेका विदेशी कैदीबन्दीहरूमध्ये भारतीय नागरिकको हिस्सा धेरै रहेको विवरण छ।

अझै फरार रहेका ५ हजार १३ जना कैदीबन्दीमध्ये ४ हजार ३ सय ७४ जना नेपाली छन् भने ५ सय ४१ जना भारतीय र ९८ जना अरू देशका रहेका विभागले जनाएको छ।

विभागले जनाएअनुसार यसबीचमा कारागार र बालसुधार गृहका गरी १५ जना कैदीबन्दीको मृत्यु भएको छ।

Share Now