काठमाडौं, २७ कार्तिक । जेन जी आन्दोलनका कारण बीचमै स्थगित भएको एभरेष्ट महिला भलिबलका बाँकी खेलहरु सुरु भएका छन् । हिजोदेखि काठमाडौंमा सुरु भएको खेलमा पहिलो दिन दुई खेल भए ।
हिजोको दोस्रो खेलमा पोखरा निन्जाजले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा ललितपुरमाथि सहज जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न खेलमा साबिक उपविजेता ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
पोखराले २५–२२, २५–१३, २५–२० ले नतिजा आफ्नो पक्षमा पारेको हो।
मधेशमाथि कर्णालीको जित
साबिक विजेता कर्णाली यश्विसले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा सहज जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
कर्णालीले २५–१५, २५–१२, २५–१७ ले नतिजा आफ्नो पक्षमा पारेको हो।
यो जितसंगै कर्णाली याशविस एक खेल अगाडि नै फाइनलमा प्रवेश गरेको छ।
अब काठमाडौं स्पाइकर्स र ललितपुर मध्ये एक टिम फाइनलमा पुग्नेछन्। काठमाडौंले फाइनलको संभावनालाई जिवितै राख्न अब बाँकी २ खेल जित्नु पर्नेछ।
ललितपुरले भने आफ्नो अन्तिम लिग चरणको खेलमा कर्णालीलाई कम्तीमा दुई सेट हराउनुपर्नेछ। यदि काठमाडौं कुनै एक खेलमा हारेको खण्डमा भने ललितपुर फाइनलमा पुग्नेछ।
बिहिवार पहिलो खेलमा काठमाडौं र पोखरा तथा दोस्रो खेलमा लुम्बिनी र मधेशबीच प्रतिस्पर्धा हुनेछ।
पोखरामा इडब्लुभीको दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को जेनजी आन्दोलनका कारण स्थगित भएको थियो।
खेल जुन बिन्दुमा रोकिएको थियो, त्यहिबाट इडब्लुभी बुधवार सुरु भएको हो।
बाँकी खेलमा विदेशी खेलाडी छैनन्। हरेक टोलीमा रहेका ९ खेलाडीबाट बाँकी खेल सक्ने सहमतिका साथ इडब्लुभी पुनः सुरु गरिएको हो।


















