बारामा कर्फ्यू, एमाले नेताहरू चढेको जहाज काठमाडौंमै रोकियो, महेश बस्नेत आउने खबरले बारामा बढ्यो तनाव
काठमाडौं, ३ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेल र युवा नेता महेश बस्नेत बारा जाने कार्यक्रम सार्वजनिक भएपछि स्थानीय जेनजीले विरोध प्रदर्शन गरेकोले बारामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
जिल्लामा कर्फयू लागेसंगै आजका लागि सिमरा विमानस्थलका निर्धारित सबै उडानहरू रद्द गरिएको छ।
बुद्ध एयरको दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ।
बारामा कर्फ्यू आदेश जारी भएको कारणले आजका सबै उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो।
सिमरामा बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।
जेनजी र प्रहरीबीच झडप
नेकपा एमाले नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप भएको छ ।
बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका थिए ।
सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा दुई पक्षबिच झडप भएको थियो ।
अहिले विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटाइएको छ । नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा आइपुग्नुभएको थियो । उहाँहरूलाई पनि प्रहरीले सुरक्षा दिएर राखेको छ ।
बस्नेत बारा आउने सूचना पाए लगत्तै मंगलवारदेखि नै जेनजी युवाहरूले सामाजिक सञ्जाल मार्फत विरोध कार्यक्रम तय गरेका थिए ।



















