Prakash Adhikari November 21, 2025

 

कीर्तिपुर(काठमाडौं), ५ मंसिर । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भइरहेको छैठौ खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा राइनोजसमक्ष १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रन जोड्यो।

ओपनर जस ब्राउन र विनोद भण्डारीले सानदार सुरुवात दिलाए। पहिलो दुई ओभरमा १८ रन बनाएको टोलीका लागि ब्राउनले तेस्रो ओभरमा टि ट्वान्टीको फ्लेभर दिए। आकाश चन्दको बलिङमा ब्राउनले पहिलो ३ बलमा चौका र एक छक्का सहित २० रन जोडे। पहिलो पावर प्लेमा सुदूरपश्चिमले ६० रन बनायो।

क्रिजमा छाएका ब्राउनले २९ बलमा ५ चौका ३ छक्का सहित अर्धशतक बनाए। १० ओभर १ बलमा विनोदले १ रन जोडेसँगै १ सय रनको साझेदारी गरे।

त्यसपछि १०.४ ओभर मा पोखराका जेम्स निशमले पहिलो विकेट निकाले। १ सय ८ रनको सानदार साझेदारी गरेर ब्राउन ६८ रनमा आउट भए। विष्फोटक ब्याटिङ गरेका उनले ३५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

त्यसपछि वान डाउनमा क्रिस लिन क्रिजमा छिरे। लिनले विनोदसँग २० बलमा ३४ रनको साझेदारी गरे। जहाँ लिनले मात्र १३ बलमा ४ चौका र २ छक्का सहित ३१ रनको विष्फोटक ब्याटिङ गरे। उनी निशमको बलमा अभिषेक तिवारीद्वारा क्याच आउट भए। दोस्रो विकेट गुमाउँदा सुदूरपश्चिमले १३ ओभरमा १ सय ४२ रन बनाएको थियो।

सुदूरपश्चिमले १६ औं ओभरमा तेस्रो विकेट गुमायो। १० बलमा १ चौका र १ छक्का सहित १५ रनमा ड्यान डाउथवेटको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए। यसपछि ओपनर विनोद ४२ बलमा ४३ रन जोडेर आकाश चन्दको बलमा आउट भए।

त्यसपछि कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन, हर्मित सिंह ४ रन, स्कट कुगेलिन ५ रन र आरिफ शेख विना रन आउट भए।

बलिङमा निशम सर्वाधिक ३ विकेट लिए। ४ ओभरमा उनले ४७ रन दिए। यस्तै आकाश चन्द र ड्यान डाउथवेटले समान २ विकेट झारे।

पोखराले आजको खेलमा विपिन खत्री र सुमित बर्मालाई खेलाउँदा त्रितराज र म्याट टेलरलाई ड्रप गरेको थियो। सुदूरपश्चिमले कुनै पनि परिवर्तन गरेन ।

सुदूरपश्चिम आज लगातार दोस्रो खेल जित्ने दाउमा छ। टोलीले पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराएको थियो। पोखरा भने पहिलो खेलमा विराटनगरसँग हारेको थियो।

Share Now