Prakash Adhikari November 24, 2025

काठमाडौँ, ८ मङ्सिर :  नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यमी विकास समिति, नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ, लायन्स क्लब अफ काठमाडौं सेन्टरको संयुक्त आयोजनामा तथा क्यान्सर सेन्टर ललितपुरको प्राविधिक सहयोगमा कन्या विद्याश्रम मा.वि. डिल्लिबजारमा स्तन तथा पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरसम्पन्न भएको छ ।

शिविरमा नेपाल क्यान्सर हस्पिटल भक्तपुरका डा.मुरारीमान श्रेष्ठ,डा. अनुशा शर्मार डा. सुनिता श्रेष्ठ सहितका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो । सो अवसरमा डा.मुरारीमान श्रेष्ठले क्यान्सरबारे सचेतना फैलाउन यस्ता जनचेतामुलक कार्यक्रम तथा शिविर महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महिला स्वास्थ्यको संवेदनशील विषयमा संघका तर्फबाट गरिएको यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमले महिलाको जीवनस्तर र स्वास्थ्य सचेतनामा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला स्वास्थ्यमा केन्द्रित कार्यक्रमले समुदायस्तरमा क्यान्सर रोग प्रति सचेतना बढाउने र प्रारम्भिक पहिचानलाई प्रभावकारी बनाउने धारणा राख्दै आयोजनाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

शिविरमार्फत १५० जना महिलाहरूको स्वास्थ्य परीक्षण—स्तन क्यान्सर, पाठेघर क्यान्सर तथा अन्य स्त्रीरोगसम्बन्धी समस्याको निःशुल्क जाँच गरिएको छ महासंघको महिला समिति सभापति कमला श्रेष्ठले जानकारी दिनुभयो । उहाँले शिविरलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण संघ–संस्थाहरू, स्वास्थ्यकर्मी, स्वयंसेवकलाई धन्यवाद व्यक्त गर्दै सबैका सहयोगले मात्र यस्ता कार्यक्रम आयोजना गर्न सकिने बताउनु भयो ।

Share Now