दुबाई(संयुक्त अरब इमिरेट्स), ८ भदौ । गैह्र आवसीय नेपाली संघ (एनआरएनए) को छैठौं मध्यपूर्व सम्मेलनको आज समुद्घाटन हुदैछ ।
नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यको रुपमा रहेको मध्यपूर्वका देशमा कार्यरत नेपालीहरुको समस्याको पहिचान र समाधानको खोजीसंग मध्यपूर्वमा स्वरोजगार र ती देशबाट नेपालमा बैदेशिक लगानी ल्याउने सम्बन्धमा यो सम्मेलनलाई आयोजकहरुले उच्च महत्वका साथ हेरेका छन् ।
तर मलेशियामा नेपाली श्रमिक जाने कार्य ठप्प भएर त्यसको भार समेत मध्यपूर्वले खेपीरहेको यो अवस्थामा पनि नेपाल सरकारका सम्बन्धित मन्त्रीहरु भेलामा नआएकोमा आयोजकहरुले असन्तुष्टी प्रकट गरेका छन् ।
देशमा औद्योगिक विकास र रोजगारीका अवसरहरु संकुचित हँदै गएको राज्य सञ्चालनका लागि आन्तरिक राजश्वका स्रोत सीमित भैरहेको अवस्थामा श्रम मन्त्री, परराष्ट मन्त्री र उद्योग मन्त्री जस्ता वैदेशिक रोजगारी र लगानी सम्बन्धी विभागीय मन्त्रीहरु आउने अपेक्षा आयोजकहरुले गरेका थिए । तर सरकारले प्रतिनिधिको रुपमा खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई पठाएको छ । उहाँले श्रमिकका हकहित र वैदेशिक लगानीका बारेमा आश्वस्त पार्न सक्ने अवस्था छैन ।
प्रमुख अतिथिको रूपमा सहभागी मन्त्री मगरले शुक्रबार बिहान दुबईस्थित ग्राण्ड एक्सेलसिअर होटलमा सम्मेलनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनमा पूर्व श्रममन्त्री रमेश लेखक, श्रम मन्त्रालयका उपसचिव विपिन आचार्य, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, एनआरएनए आईसीसीका अध्यक्ष भवन भट्ट, आईसीसी तथा आरसिसिका पदाधिकारीहरू र मध्यपूर्वका एनसिसि प्रतिनिधि आउदै हुनुहुन्छ ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारी, नेपाल सरकारका प्रतिनिधि, सञ्चारकर्मीसहित साउदी अरेबिया, बहराईन, कुवेत, लेवनान, ओमन, कतारलगायत मध्यपूर्वका १२ देशका एनआरएनए प्रतिनिधि सम्मिलित भेला युएई घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न हुनेछ।
अत्यन्तै महत्त्वका साथ हेरिएको एनआरएनएको मध्यपूर्व सम्मेलन वैदेशिक रोजगारीका क्रममा खाडीमा रहेका नेपाली मजदुरको सुरक्षा, राहत र हितमा केन्द्रित हुने आशा गरिएको छ
हरेक दुई वर्षमा एकपटक आयोजना हुँदै आएको एनआरएनए क्षेत्रीय समितिहरुको भेला यस अघि सन् २०११ मा पनि युएईमा भएको थियो।
नेपालीका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य मानिने मध्यपूर्वमा निर्माण , सुरक्षा , सेवा आदि क्षेत्रमा गरि करिब २५ लाख नेपाली कार्यरत छन्।