Prakash Adhikari November 27, 2025
काठमाडौँ, ११ मङ्सिर: ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आज सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विशेष समारोह आयोजना गरिँदै छ । नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो ।
श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यसहित स्थापित कोषको नेतृत्वमा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा छन् । सबै श्रमिकलाई यस योजनामा आबद्ध गराई आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक व्यवस्थालाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित रहेका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिनुभयो ।
‘बढ्दै दायरा, लाभान्वित हुँदै श्रमिक’
कोषले औपचारिक क्षेत्रका साथै वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइरहेको छ । बुधबारसम्म साढे २६ लाख नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिएका कोषले जनाएको छ । त्यसमा औपचारिक क्षेत्रका छ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ र स्वरोजगार क्षेत्रका ५८२ श्रमिक छन् ।
कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । यी योजनाबाट श्रमिक र तिनका परिवारले विभिन्न सुविधा तथा  सहुलियत प्राप्त गर्दै आइरहेको कार्यकारी निर्देशक अधिकारीले बताउनुभयो ।
कोषमा हालसम्म रु ९५ अर्ब ६८ करोड योगदान रकम सङ्कलन भइसकेको छ । दुई लाख ५३ हजार एक सय ४३ श्रमिकले विभिन्न सुविधाबापत रु १७ अर्ब ७२ करोड दाबी भुक्तानी लिइसकेका छन् । कोषले योगदानकर्तालाई स्वास्थ्य सुविधाका अतिरिक्त बचतको ब्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत प्रदान गर्दै आइरहेको छ ।
Share Now