Prakash Adhikari November 27, 2025

काठमाडौँ, ११ मङ्सिरः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिनुभएको छ ।

सिंहदरबारमा बिहीबार आयोजित सामाजिक सुरक्षा कोषको ८औँ वार्षिक उत्सव समारोह बोल्दै अध्यक्ष ढकालले कोषको रकमलाई सुरक्षित, दिगो र प्रतिफलमुखी उपयोगमा लैजानु पर्ने बताउनु भयो ।

“नेपालमा संस्थागत रुपमा रहेका यस्ता रकम बैंकको मुद्धतिमा राख्ने गरिएको छ । हालसम्म सामाजिक सुरक्षा कोषमा ९५ अर्ब ६८ करोड रुपैयाँ योगदान संकलन भएको तथ्याङ्क छ । यो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके यसबाट देश विकासमा योगदान पुग्छ ।” अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँले नेपालमा श्रम ऐन २०८४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को कार्यान्वयनसँगै सामाजिक सुरक्षा प्रणाली संस्थागत रूपमा अगाडि बढेको उल्लेख गर्दै कोष मार्फत औपचारिक श्रम बजार विस्तार, सुरक्षित र मर्यादित कार्यस्थल निर्माण तथा त्रिपक्षीय सहकार्य सुदृढ हुँदै गएको बताउनुभयो ।

साथै उहाँले सामाजिक सुरक्षा कोषलाई आगामी वर्षहरूमा डिजिटल सेवा विस्तार, लघु, साना तथा मध्यम उद्योग माथि पर्ने कार्यान्वयनको बोझ कम गर्दै सामाजिक सुरक्षा कोषमा समेटन तथा अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई प्रणालीमा जोड्ने पहल गर्न सुझाव दिनुभयो । अध्यक्ष ढकालले उद्योग–व्यवसायमैत्री सुविधा, तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार प्रणाली आधुनिकीकरणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

यसैगरी उहाँले योगदान दर, दर्ता प्रक्रिया तथा दायित्वबारे अझै अस्पष्टता रहेकोले प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको, योगदानबापत श्रमिकले प्रत्यक्ष लाभ पाएको अनुभूति बढाउनुपर्ने तथा कोषको लगानी संरचना पारदर्शी, सुरक्षित र जोखिम व्यवस्थापनयुक्त हुनुपर्नेमा जोड दिनुभयो ।

महासंघ श्रमिक–कल्याण, सुरक्षित श्रम वातावरण र दिगो आर्थिक विकासका लागि सधैं तत्पर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारलाई औपचारिक, सुरक्षित र दिगो बनाउन महासंघले संस्थागत रूपमा योगदान पुर्‍याइरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Share Now