Prakash Adhikari November 27, 2025
काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज भइरहेको दोस्रो खेलमा पोखरा एभेन्जर्सले  साबिक विजेता जनकपुर बोल्टसलाई २५ रनले पराजित गरेको छ ।
ब्याटिङमा सुमित वर्माको अर्धशतक अनि बलिङमा स्पीनर विपिन खत्री चम्किएपछि पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित हात पारेको हो  ।
सुरुवाती दुई खेलमा पराजित पोखराले  यो जितसंगै २ अंक जोडेको छ ।
पोखरा र जनकपुर दुवैले यसअघि सुरुआती दुवै खेलमा हार व्यहोरे ।  आजको खेलमा  दुवै टोली पहिलो जितको खोजीमा थिए । त्यसमा पोखराले बाजी मार्‍यो ।
विपिनले ४ विकेट लिएपछि १ सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो ।
जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरे पनि जितसम्म पुर्‍याउन  सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए ।
अन्तिम ओभरको दोस्रो बलमा सिंगल लिएर अर्धशतक पूरा गरेपछि उनी रिटायर्ड आउट भएका थिए ।
यस्तै सञ्जय कृष्णमूर्तिले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए भने माज साजाकातले २० रन जोडे ।
जनकपुरको ब्याटिङ अर्डरलाई ध्वस्त पार्ने क्रममा पोखराका विपिन खत्रीले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै सुमित वर्माले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।कप्तान कुशल भुर्तेल र जिमी निशमले १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको  पोखराले २० ओभरमा  ६ विकेटको क्षतिमा १५५ रन बनायो । पोखराका लागि सुमित बर्माले अर्धशतकीय पारी खेले । उनले २९ बल खेल्ने क्रममा चार छक्का र दुई चौकाको मद्दतमा अविजित ५० रन बनाए । यस्तै  दिनेश  खरेलले ३८, तृतराज दासले २९ तथा एडम रोसिङ्ग्टनले २४ रन बनाए ।
बलिङतर्फ जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले तीन तथा कप्तान अनिल साह र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।
यसअघि आजै सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।
Share Now