Prakash Adhikari August 24, 2018

दुबई(संयुक्त अरब इमिरेट्स), ८ भदौ । गैरआवसीय नेपाली संघको मध्यपूर्व सम्मेलन युएईको दुबईमा शुक्रबारबाट सुरू भएको छ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल सरकारकी खानेपानी तथा सरसफाई मन्त्री विना मगरले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताउनुभयो ।

‘हरेक नेपाली युवाले गाँस र बासको लागि अब विदेशिन नपरोस्,’ मन्त्री मगरले भन्नुभयो ,‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ। जुन एकदमै चुनौतीपूर्ण छ।’

वैदेशिक रोजगारमा जाने कामदारले आफूसँग नेपाल सरकारको साथमा रहेको अनुभूति हुने गरी काम भइरहेको बताउनुभयो।

‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री मगरले भन्नुुभयो ,‘नेपाली कामदारको हितको पक्षमा सरकार बलियो ढंगले उभिएको छ।’

उहाँले कोमामा रहेका नेपाली कामदारलाई फिर्ता लैजाने तयारी भइरहेको बताउनुभयो। ‘परिवारले आफूले नै कोमाका विरामीलाई ल्याउन र ब्यवस्था गर्न सकेको छैनन्। अब कोमाको विरामीको जिम्मेवारी सरकारले लिन्छ,’, उहाँले भन्नुभयो ।

नेपाली कााग्रेसका नेता एवं पूर्वश्रममन्त्री रमेश लेखकले वैदेशिक रोजगारी नेपालीको लागि बाध्यात्मक विकल्प भएको बताउनुभयो।

उहाँले मुलुकमा तत्काल रोजगार सिर्जना गर्नसक्ने स्थिति नभएको र विदेश नै नजाऊ भन्ने अवस्थामा कुनै पनि सरकारमा रहन नसक्ने बताउनुभयो ।

घरेलु कामदारका सम्बन्धमा सरकारले मध्यमार्गी बाटो पहिल्याउनुपर्ने उहाँको भनाई थियो। ‘समस्या पर्‍यो भनेर रोक्ने होइन समाधानको बाटो खोज्ने हो। जटिलता, जोखिम र सम्भाबना र अबसर सबै रहेको विदेशी रेमिटयान्सकै भरमा मुलुकको ठूलो हिस्सा ओगटेको छ,’ लेखकले भन्नुभयो।

युवालाई रोजगारी दिएर देशको विकास गरी मुल प्रवाहमा ल्याउने सम्भावना तत्कालै छैन। देशभित्र पसिना बगाउनुपर्ने थियो। तर, देशबाहिर गएर पसिना मात्रै होइन रगत बगाउनुपरेको बताए। ‘यो कामलाई मर्यादीत र सुरक्षीत बनाउने बाहेक हामीसँग अर्को बिकल्प छैन। यतिधेरै जोखिम र जटिलता छ कि जति काम गर्दा पनि गरेको जस्तो देखिन्दैन। जटिलता, जोखिम र सम्भावना र अबसर दुवै छ। विद्यमान चुनौतीलाई न्युनीकरण गरेर अवसरलाई दोहन गर्नुछ,’ उहाँले भन्नुभयो।

उहाँले विदेशमा महिला कामदार समस्यामा पर्‍यो भनेर जान रोक्नु गलत भएको जिकिर गदैै भन्नुभयो, ‘महिला कामदारको विषयमा विशेष सम्झौता गर्नुपर्छ ।’

एनआरएनका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको लागि पेन्सन फन्ड तयार गर्ने अवधारणा ल्याएको बताउनुभयो।

बल छउन्जेल विदेशमा काम गर्ने र कमजोर भएपछि देश फर्कने स्थिति रहेको भन्दै उहाँले सामाजिक सुरक्षाको लागि पेन्सन फन्ड बनाउन जरूरी देखिएको बताउनुभयो ।

स्थिर सरकार बनेपछि संसारले नेपालमा लगानी गर्न वाताबरण बनेको उहाँको भनाई थियो।

भेलामा संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशको आर्थिक समृद्दि भए मात्रै नागरिकको समृद्धि हुने बताउनुभयो। उहाँले नेपालमा दक्ष जनशक्ति अभाव भएकोले विदेशमा सिकेका ज्ञान सीप नेपालमा भित्र्याउन आवश्यक रहेको औल्याउनुभयो।

विप्रेषणबाट शिक्षा, स्वास्थ्य, निर्माण लगायतको क्षेत्रमा काम गर्न सकिने सम्भावना उहाँले उल्लेख गर्नुभयो।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले बैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखेर एनआरएनले काम गर्दै आएको बताउनुभयो।

विश्वव्यापीकरणको युगमा जो जहाँ पनि जान सक्ने बताउनुभयो। ‘सम्भाबना छ भने जहाँ पनि जान सकिन्छ। नेपालले जनशक्ति नै निर्यात गर्न सक्ने हो। अहिले अदक्ष कामदार पठाइरहेको छ। त्यसलाई दक्ष बनाएर पठाउनुपर्छ’, उहााँले भन्नुभयो,‘अदक्षको रुपमा गएकोले धेरै समस्या सिर्जना भइरहेको छ। संघको सिमीतताले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन।’

युएईका कार्यबाहक राजदूत सागर फुयालले वैदेशिक रोजगारीमा आउने कामदारलाई सचेतना फैलाउन निकै जरूरी रहेको बताउदै भन्नुभयो, ‘आबश्यक अभिमुखीकरण तालिम दिन श्रम आवासमै गइरहेको छ ।’

सम्मेलनमा कतार, साउदी अरव, बहराइन, ओमान, कुबेत लगायत मध्यपूर्वका देशबाट प्रतिनिधि सहभागी भएका छन्।

सम्मेलनमा सुरक्षित र मर्यादीत वैदेशिक रोजगारी, आप्रवासी कामदारको ज्ञान, सीप, विप्रेषण र उद्यमशिलता समृद्दिको लगायत विषयमा छलफल भइरहेको छ।

एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले मध्यपूर्व क्षेत्रमा कार्यरत झन्डै २० लाख नेपालीको मुद्दा र सवालमाथि सम्मेलनले सम्बोधन गर्ने बताउनुभयो।

सम्मेलन युएई घोषणा पत्र जारी गर्दै शनिबार सकिनेछ।

Share Now

Leave a comment.