कायरो(इजिप्ट), १२ मंसिर । एसियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्।
महिला ६८ केजी माथि तौल समूहको पुल ७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिलीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।
त्यसअघिको खेलमा फ्रान्सकी गार्सियासँग ४-४ को बराबरी खेलिन्। उनी सेन्सोको आधारमा गार्सियासँग पराजित हुन पुगिन्। यस्तै पोल्यान्डकी जुलिया ड्यानिस्कासँग पनि एरिकाले २-० को हार बेहोरिन्।
तर यो पुलबाट हाई स्कोरको आधारमा एरिका उपविजेता बन्दै प्रि-क्वाटरफाइनलमा पुगिन्। यो पुलबाट फ्रान्सकी गार्सिया समूज विजेता बनिन्।
अब एरिकाले क्वाटरफाइनल प्रवेशको लागि इजिप्टकी ओकिला साबानसँग खेल्नेछिन्। पहिलो पटक नेपाली खेलाडीले विश्व कराते च्याम्पियनसिप खेल्दैछन्।
सानुमाया थिङले हिजो एकल कातामा प्रतिस्पर्धा गरेकी थिइन।








