यो जितसंगै नेपाल युएईमा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ।
जितको लागि ५२ रनको अत्यन्त सहज चुनौती नेपालले ७ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्यो। ओपनर निरज कुमार यादव ४ रनमा मुहम्मद अक्रमको बलमा आउट भए।
त्यसपछि वंश क्षेत्री र निश्चित क्षेत्रीले दोस्रो विकेटको लागि अविजित ५१ रनको साझेदारी गर्दै सहज जित दिलाए। वंशले २७ बलमा ३ चौका सहित अविजित २३ रन बनाए। निश्चलले १८ बल खेलेर २ चौका सहित अविजित १५ रन बनाए।
त्यसअघि अजमानको सेभेन डिस्ट्रिक्ट मैदान-२ मा टस जितेर नेपालले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा १७ ओभरमा ५१ रन जोडेर अल आउट भयो।
नेपाली बलरसामू निरिह बनेको मलेसियाले ५ विकेट गुमाउँदा ८ रन मात्र जोडेर अत्यन्त खराब सुरूवात गर्यो। ओपनर अजिब वाज्दी २ रनमा, मोहम्मद हारिज रनको खाता नखोली, मोहम्मद हेरिल, कप्तान डियाज पाट्रो र नागिनेश्वरन सथना कुमारन १/१ रनमा आउट भए।
यसपछि मोहम्मद अक्रम १ रनमा र मोहम्मद आलिफ ४ रनमा आउट हुन पुगे। १३ रन बनाउँदा ७ विकेट गुमाएको मलेसियाको इनिङ्स धराशायी बन्यो। पहिलो देखि सातौं क्मका कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन्।
यसपछि आशयारफ रिफाइ र मुहम्मद फातुलले आठौं विकेटको लागि २० रनको साझेदारी गरे। आशयारफ ६ रनमा आउट भए। फातुल पनि ११ रन जोडेर आउट भए।
यस्तै हम्जा पांगी १३ रनमा पबिलियन फर्के सँगै मलेसिया अल आउट भयो। उनी नै मलेसियाको लागि सर्वाधिक रन स्कोर गर्ने खेलाडी बने। मलेसियाको लागि मात्र दुई खेलाडीले दोहोरो रन छोए।
बलिङमा नितेश कुमार पटेलले ८ ओभरमा २४ रन दिएर ४ विकेट लिए। चन्दन रामले ५ ओभरमा १७ रन दिएर ३ विकेट लिए। यस्तै अपराजित पौडेल,अशोक धामी र रोशन विश्वकर्माले १/१ विकेट लिए।
नेपाल लगातारको तेस्रो जितमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। नेपाल जारी प्रतियोगितामा अपराजित रहेको छ। अब उपाधिको लागि नेपालले युएई र ओमानबीचको विजेतासँग सोमवार फाइनल खेल्नेछ।
नेपालले एसीसी यु १९ एसिया कपको लागि छनोट भएको छ। प्रिमियर कपको शीर्ष ३ टोली एसिया कपका लागि छनोट हुने प्रावधान छ।


















