Prakash Adhikari November 29, 2025
  • थेओ लेगट,अन्तर्राष्ट्रिय व्यवसाय संवाददाता / यङ टियान बीबीसी न्यूज

ब्यागन्याग(फ्रान्स), २९ नोभेम्बर । सौर्य विकिरणले उडान नियन्त्रण गर्ने कम्प्युटरमा बाधा पुर्‍याउन सक्ने थाहा भएपछि एअरबसका हजारौँ विमानहरू ग्राउन्डेड भएपछि उडानहरूमा ढिलाइ भएको छ।

करिब ६ हजारवटा ए-३२० विमानहरू प्रभावित हुने अनुमान गरिएको छ। त्यो विश्वभरि सञ्चालनमा रहेका कुल सङ्ख्याको आधा हो।

तर सफ्टवेअर द्रुत रूपमा अद्यावधिक गरिएपछि धेरैजसो जहाज फेरि उडान गर्न सक्षम हुने थाहा भएको छ।

यूकेको उड्डयन नियामकले ‘केही उडान ढिलो र रद्द’ भएको जनाएको छ। यद्यपि विमानस्थलहरूमा सीमित प्रभाव देखिन्छ।

गत अक्टोबरमा अमेरिका र मेक्सिकोबीच उडिरहेको एउटा जहाजले अकस्मात् उचाइ गुमाएको घटनाबारे अनुसन्धान गरेपछि एअरबसले उक्त समस्या पत्ता लगाएको जनाएको छ।

जनाउ दिने घटना

यस समस्याको जनाउ दिएको सो घटनामा विमानको उचाइ ह्वात्तै घट्दा १५ जना घाइते भएका थिए। त्यसपछि जेटब्लू एयरवेजको विमान फ्लोरिडामा आकस्मिक अवतरण गरेको थियो।

कम्पनीको सबैभन्दा बढी बिक्री हुने विमान ए-३२० मा देखिएको यस कमजोरीले ए-३१८, ए-३१९ र ए-३२ मोडेलहरूलाई पनि असर गरेको छ।

लगभग ५,१०० एअरबस विमानहरूमा यो समस्या तुलनात्मक रूपमा सरल सफ्टवेअर अपडेटमार्फत समाधान गर्न सकिने बुझिएको छ। जसको निम्ति सामान्यतया लगभग तीन घण्टा लाग्छ।

पुरानो संस्करणका बाँकी ९०० वटा जहाजहरूमा रहेका कम्प्युटरहरू भौतिक रूपमा प्रतिस्थापित गर्नुपर्ने खाँचो पर्छ। र त्यो काम पूरा नभएसम्म यात्रु बोक्न अनुमति दिइने छैन।

त्यसको निम्ति कति समय लाग्छ भन्ने कुरा कम्प्युटरको उपलब्धतामा निर्भर हुनेछ।

एअरबसले यसबाट यात्रु र उपभोक्ताको निम्ति उडान सेवामा बाधा पुग्ने स्वीकार गर्दै क्षमा मागेको छ।

उड्डयन विश्लेषक स्याली गेथिनले स्थिति ‘धेरैनै असामान्य’ रहेको बीबीसीलाई बताइन्।

उनका अनुसार यात्रुहरूले बेहोर्नुपर्ने अवरोध एअरलाइन्सले सफ्टवेअरको ‘स्तरोन्नति’ गर्न अपनाउने ‘तरिकाहरू’ मा निर्भर हुनेछ।

“त्यसको निम्ति लुफ्थान्साले आफ्नो जहाजलाई सेवा सञ्चालनबाट बाहिर लैजाने बताएको मैले थाहा पाएकी छु, अन्य सन्दर्भमा एअरलाइन्सहरूले यसले धेरै प्रभाव पार्न नहुने बताइरहेका छन्,” उनले भनिन्।

संयुक्त अधिराज्यमा अहिलेसम्म विमानस्थलमा प्रभाव सीमित गरिएको छ।

लन्डनको ग्याट्विक विमानस्थलले ‘केही अवरोध’ देखिएको जनाएको छ जबकि हिथ्रोले कुनै हवाई सेवा रद्दको भएको जानकारी पाएको छैन।

प्रभावको तह विमान सेवा कम्पनीअनुसार फरक फरक छ: ब्रिटिश एयरवेज यसबाट धेरै प्रभावित नभएको बुझिएको छ, जबकि विज एअर र एअर इन्डियाले सफ्टवेअर अद्यावधिक थालिसकेको बताएका छन्।

इजीजेटले केही अवरोध उत्पन्न हुने आकलन गरेको बताएको थियो तर पछि धेरै विमानहरूमा सफ्टवेअर अद्यावधिक गर्ने काम पूरा गरिसकेको जनाएको छ। शनिवारदेखि पूर्ण सेवा दिने योजना बनाइरहेको छ।

अमेरिकामा, वर्षको एउटा सबैभन्दा व्यस्त यात्रा हुने अवधिहरू थ्याङ्क्सगिभिङकै सप्ताहान्तमा सफ्टवेअर समस्या देखा परेको हो।

अमेरिकन एअरलाइन्सले आफ्ना ३४० विमानहरू प्रभावित भएको र त्यसका कारण ‘केही हवाई सेवामा ढिलाइ’ हुने अपेक्षा गरेको बताएको छ।

तर अद्यावधिक गर्ने अधिकांश काम शनिवारसम्म पूरा हुने जनाएको छ।

डेल्टा एअरलाइन्सले आफ्नो उडानमा पर्ने असर सीमित हुने विश्वास गरेको छ। अस्ट्रेलियाको बजेट एअरलाइन्स जेटस्टारले आफ्ना जहाजहरूमध्ये एक तिहाइ जहाज प्रभावित हुने पुष्टि भएपछि ९० वटा उडान रद्द गरेको छ।

ब्रिटेनको नागरिक उड्डयन प्राधिकरणका नीति निर्देशक टिम जोनसनले भन्नुभयो , “आगामी दिनहरूमा हवाई सेवा केही अवरुद्ध, केही ढिलाइ वा रद्द हुनसक्छ।”

उनका भनाइमा जहाजहरूको सामूहिक ग्राउन्डिङ एउटा निकै दुर्लभ घटना हो, तर विमानहरूमा गरिने गम्भीर मर्मतका कारण उड्डयन क्षेत्र अझै यातायातको सबैभन्दा सुरक्षित रूपहरूमध्ये एक हो।

यातायात मन्त्री हाइडी अलेक्जान्डरका अनुसार यूकेका एअरलाइन्समा प्रभाव सीमित देखिन्छ।

“यो सकारात्मक कुरा हो कि समस्या पहिचान गरिएको छ र विश्वव्यापी रूपमा उच्च हवाई सुरक्षा मापदण्डहरू प्रदर्शन गर्दै निकै छिटो सम्बोधन गरिनेछ,” उहाँले भन्नुभयो ।

‘सावधानीपूर्ण कदम’

ए-३२० विमानमा पहिचान गरिएको समस्या उडिरहेको जहाजको उचाइ मापन गर्ने सफ्टवेअरको एक अंशसँग सम्बन्धित छ।

एयरबसले जहाज निकै उचाइमा रहेका बेला सूर्यको तीव्र विकिरणले त्यो डेटामा क्षति पुर्‍याउन सक्ने पत्ता लगाएको थियो।

यसले अक्टोबरको घटना निम्त्यायो जसमा एउटा जहाजले अचानक उचाइ गुमाएको थियो।

यद्यपि निर्माता कम्पनीले भनेको छ: त्यस प्रकारको घटना त्यो एउटा मात्रै थियो।

युरोपिअन युनियन एभिएसन सेप्टी एजेन्सी (ईएएसए) ले आपत्कालीन उडान निर्देशिका जारी गर्दै त्यसमा प्रत्येक विमानले पुनः यात्रुहरू बोक्नुअघि समस्यालाई सम्बोधन गर्न आदेश दिइएको छ।

मर्मत सुविधा भएको ठाउँसम्म पुग्नका निम्ति भने यात्रुहरू बिनाको उडानको निम्ति ती जहाजहरूलाई अनुमति दिइनेछ।

ए-३२० समूह ‘फ्लाइ बाई वायर’ विमान भनेर चिनिन्छन्। यसको अर्थ वास्तवमा उडानलाई निर्देश गर्ने विमानका अङ्गहरू र ककपिटको नियन्त्रणबीच सिधा यान्त्रिक सम्बन्ध हुँदैन, पाइलटको कदम कम्प्युटरद्वारा प्रशोधित हुन्छ।

Share Now