Prakash Adhikari November 30, 2025

काठमाडौँ, १४ मङ्सिरः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच ऐतिहासिक एकता घोषणा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।११औँ महाधिवेशनबाट निर्वाचित डा बद्री केसी र अध्यक्ष महेश श्रेष्ठबीच बृहत एकताको सम्झौतामा हस्ताक्षर भएको छ । सञ्चारमन्त्री खरेलको विशेष पहल र अग्रसरतामा एनआरएनका दुई समूहबीच एतिहासिक एकता कायम भएको हो । सहमति पत्रमा ११औँं अन्तरराष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाउनुभयो । “विदेश बसेर काम गर्न नेपालीलाई दुःख पनि छ । मेहनतपछि सफलता पाइन्छ । विदेशमा बस्ने नेपालीलाई आफ्नो मुलुक र माटोको माया हुन्छ । तपाईंहरुले आफ्नो माटोका लागि के–कति गर्न सक्नुहुन्छ गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदालगायत धेरै क्षति भएको छ । शान्त तलाउमा ढुङ्गा हानिए जस्तो भएको छ । यसको मूल्याङ्कन गर्नुपर्ने भएको छ । मुलुकको हित र विकासका लागि तपाईंहरूको थप सहयोग र सुझावको अपेक्षा गरेका छौँ ।”
उहाँले निर्वाचनमा हार्नेले जित्नेलाई काम गर्न दिनुपर्ने र हार्नेले अर्काेपटक अवसर र जिम्मेवारी पाइएला भन्ने सोचेर राम्रो काम गर्न लाग्नुपर्ने र सङ्घको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले बृहत एकतालाई दिगो बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “आज एनआरएनएबीच बृहत एकताको हस्ताक्षर भएको छ । यो हस्ताक्षर कागजमा भएको छ । यो हस्ताक्षर मन र मस्तिस्क दुवैमा कायम रहोस् । व्यवहारिक कार्यान्वयन र दिगो रुपमा एकता अगाडि बढोस् । फुटेर हैन, जुटेरै अगाडि बढ्न सकिन्छ । एकता सम्भव बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु ।”

सञ्चारमन्त्री खरेलले एनआरएनएको एकताले ८० लाख गैरआवासीय नेपालीलाई सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा एनआरएनएको स्थापनाको आरोह अवरोहमा छुट्टै अझ, गरिमा, विश्वास र सम्मान यहाँहरुले कामय गर्नुभएको थियो । पछिल्ला वर्षमा यो खस्किदै गयो । किनकी एनआरएनएबीच विभाजन आयो । अहिले एउटा ठूलो अवसर आएको छ । एनआरएनलाई पार्टी भन्दामाथि उठेर जनताको संस्थाको रुपमा स्थापित गराउनुस् ।”

मन्त्री खरेलले भूकम्प, नाकाबन्दी, कोरोना भाइरस महामारीलगायत विपद्का समयमा गरिआएको सहयोग सराहनीय रहेको भन्दै एनआरएनलाई राजनीतिभन्दामाथि उठेर मुलुकको आर्थिक समृद्धिका लािग बढीभन्दा बढी लगानी भित्र्याउन पहल गर्न आग्रह गर्नुभयो । उहाँले एनआरएनएले जोखिम मोलेर गरिरहेको लगानीको प्रसंशासमेत गर्नुभयो । मन्त्री खरेलले एनआरएनएले उठाएको मुद्दालाई सरकारकोतर्फबाट सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएनएका अध्यक्ष डा केसीले एनआरएनएबीचको एकताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सकारात्मक सन्देश दिएको भन्दै नेपालको आर्थिक विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले एनआरएनएलाई अब राजनीतिक कोणबाट कहिल्यै विभाजन नहुनेगरी कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, “हामी चार वर्ष अलमलिएका थियौँ, संस्थाभित्र मतान्तर थियो । तर पनि सोच र कार्यशैलीबाट भिन्न थिएनौँ, यो एकताले संस्थालाई बलियो बनाएको छ । यो एकता भनेको अठोट र विश्वासको हो सम्पूर्ण ८० लाख नेपालीको एकता पनि हो ।”

डा केसीले एनआरएनएबीचको एकतालाई यो अवस्थामा ल्याउन विशेष भूमिका निर्वाह गर्नुहुने सञ्चारमन्त्री खरेललाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष श्रेष्ठले बृहत एकताको घोषणाले गैरआवासीय नेपालीबीचको भावनात्मक एकता भई समृद्ध नेपाल निर्माणमा सक्रिय भएर जुट्न प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो,“लामो समयको बेइमेल र असमझदारीलाई यस एकताको सम्झौताले चिर्नेछ । एकतालाई दिगो बनाएर, ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन मद्दत पुग्नेछ ।”

एनआरएनए पछिल्लो केही वर्षदेखि केसी र श्रेष्ठको नेतृत्वमा क्रियाशील रहँदै आएकामा दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध भएका छन् । एकतापछि अबको चार महिनाभित्र १२औँं महाधिवेशन गर्ने सहमति जुटेको छ ।

Share Now