Prakash Adhikari December 2, 2025

 

मस्को(रुस), १५ मंसिर(बीबीसी) । रुसले पूर्वी युक्रेनको पोकरोभ्स्क सहर आफ्नो सेनाको नियन्त्रणमा आएको दाबी गरेको छ।

रुस र युक्रेनबीच महिनौँयता रक्तपातपूर्ण युद्ध चलिरहेको सो सहरको मध्यभागमा रुसी सैनिकहरूले झण्डा फहराइरहेको जस्तो देखिने भिडिओ रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ।

किएभले आफ्नो बन्दोबस्तीका सामग्रीहरू राखिएका मुख्य केन्द्रहरूको रक्षार्थ विशेष फौजसहित थप बल गत महिना त्यहाँ पठाएको थियो। युक्रेनले उक्त सहर गुमेकोबारे प्रतिक्रिया दिएको छैन। रुसले खार्किभ क्षेत्रको सीमावर्ती क्षेत्र भोभ्चान्स्क पनि कब्जामा लिएको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफ भेटवार्ताका लागि मस्को आउनुअघि रुसले उक्त सहर कब्जाको घोषणा गरेको हो। अमेरिकाले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि दबाव दिइरहेको छ।

अमेरिकाले शान्ति सम्झौताका लागि रुसको नियन्त्रणमा पुगेका भूभाग युक्रेनले त्याग्नुपर्ने प्रस्ताव अघि सारेको छ। तर युरोपेली नेताहरूले शान्ति सम्झौतामा सहमति गर्नुअघि युक्रेनको सुरक्षा प्रत्याभूति हुनुपर्ने सर्त अघि सारेका छन्।

जेलेन्स्कीको प्रतिक्रिया

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका निम्ति रुससँग हुने शान्ति वार्ताका लागि युक्रेनको सार्वभौमिकता र सुरक्षा प्रत्याभूति आफ्नो देशको मुख्य प्राथमिकता रहेको बताएका छन्।

अझैसम्म युक्रेनको नियन्त्रणमा रहेको भनिएको र किएभले त्याग गर्न अस्वीकार गरेको पूर्वी डोन्बास क्षेत्र रुसले माग गरिरहँदा जेलेन्स्कीले भूभागको विषय सबैभन्दा कठिन रहेको बताउनुभएको छ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँग प्यारिसमा भएको भेटपछि जेलेन्स्कीले त्यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले त्यहाँ यूके, जर्मनी, पोल्यान्ड र इटलीका नेताहरूसँग पनि कुरा गर्नुभएको थियो ।

शान्ति सम्झौताको खाका तयार हुँदै

युक्रेन र अमेरिकी वार्ताकारहरूले युक्रेनको शान्ति योजनाबारे तयार गरिएको मस्यौदा पुनरवलोकन गरेका छन्।

फ्लोरिडामा दुई दिन चलेको बैठकमा उनीहरूले यसअघि रुसलाई फाइदा हुने भनिएको सम्झौताको मस्यौदा हेरफेरबारे छलफल गरेका हुन्।

वार्ता सकारात्मक भए पनि थप कामहरू गर्नुपर्ने देखिएको यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले बताउनुभएको थियो।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ट्रम्प प्रशासन युद्ध अन्त्यका लागि सम्झौता हुनेमा अत्यन्तै आशावादी रहेको बताउनुभएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एक्समा एउटा पोस्ट गर्दै युक्रेनको सार्वभौमिकता र राष्ट्रिय हितहरू सुनिश्चित गर्दै वार्ता रचनात्मक र गतिशील भएको र सबै मुद्दाहरू खुला रूपमा छलफल भएको बताउनुभएको थियो ।

अमेरिकी दूत मस्को जाँदै

युक्रेनी प्रतिनिधिमण्डलसँग फ्लोरिडामा मस्यौदा पुनरवलोकनमा सहभागी अमेरिकी राष्ट्रपतिका विशेषदूत स्टीभ विट्कफ रुसतर्फ लागेका छन्।

उहाँले मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने तय भएको छ। विट्कफसँगै ट्रम्पका ज्वाइँ तथा सल्लाहकार ज्यारड कुश्नर पनि रुस जाँदै हुनुहुन्छ।

विट्कफले युक्रेनी राष्ट्रपति जेलेन्स्की, फ्रान्सका राष्ट्रपति माक्रोँ, युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख समेत रहेका मुख्य वार्ताकार रुस्टेन उमेरोभ र यूकेका प्रधानमन्त्री किअर स्टार्मरसँग कुरा गरिसक्नुभएको छ।

उनीहरूसँगको छलफलका आधारमा विट्कपले पुटिनसँग कुरा गर्ने ठानिएको छ।

सम्झौताको प्रारम्भिक मस्यौदाले आशङ्का

रुसी राष्ट्रपति पुटिनले गत साता अमेरिकीहरूले सम्झौताको मस्यौदा रुसलाई देखाएको बताउनुभएको थियो ।

उहाँले भविष्यमा युद्ध अन्त्यका लागि उक्त मस्यौदा एउटा आधार बन्न सक्ने बताउनुभएको थियो ।

रुस र अमेरिकाबीच छलफल भएको शान्ति योजनाले नोभेम्बरमा युक्रेन र युरोपमा चिन्ता मिश्रित आक्रोश उत्पन्न भएको थियो।

मस्यौदा मस्कोका माग सम्बोधन गर्ने किसिमले आएको भन्दै आलोचना भएको थियो।

फ्रान्सका राष्ट्रपति माक्रोँले मस्यौदाको खाकाले युक्रेन र युरोपको सुझावपछि मात्रै अन्तिम रूप पाउने बताउनुभएको थियो ।

Share Now