कीर्तिपुर(काठमाडौं), १८ मंसिर ।एनपीएल अन्तरगत आजको दोस्रो क्रिस लिनको पहिलो अर्धशतकसहित अन्य बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको छ । लगातारको छैठौं जितसहित १२ अंक जोडेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।
आजको खेलसहित चितवनले ६ खेलमा चौथो हार ब्यहोरेको छ । उसले ६ खेलबाट ४ अंक मात्र जोडेको छ । उसको प्लेअफ पुग्ने संभावना कमजोर बनेको छ ।
सुदूरपश्चिमसँग चितवन हारेपछि तेस्रो स्थानमा रहेको विराटनगर किंग्स पनि लिगको एक खेल अगावै बिहीबार प्लेअफ पुगेको छ । विराटनगरले ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ । अब विराटनगरलाई लुम्बिनी बाहेक कुनै पनि टिमले भेट्न नसक्ने भएपछि विराटनगरलाई फाइदा पुगेको हो ।
यस्तै बिहीबार पोखरा एभेन्जर्स र चितवन राइनोजको हारपछि लुम्बिनी लायन्सलाई फाइदा पुगेको छ । लुम्बिनीले शुक्रबार जनकपुरलाई पराजित गरेमा ऊ पनि प्लेअफ पुग्नेछ ।
आजको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय २० रनमा अलआउट भयो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाउँदा देव खनालले २८, ओपनर अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए ।
चितवनलाई अलआउट गर्न सुदूरपश्चिमका लागि पुनित मेहराले २.१ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए ।
दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले १।१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबारको डेनाइट म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले क्रिस लिनको अर्धशतकमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
विनोद भण्डारीसँग ओपनिङ व्याटिड. गरेका लिनले सर्वाधिक ७५ रन बनाए । उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे ।
लिन १७औं ओभरपछि रिटायर भएका थिए ।
लिनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४६ रनको साझेदारी गरेका थिए । यस्तै पाँचौ विकेटका लागि आरिफ शेखसँग ४५ रनको साझेदारी गरे ।
आरिफ शेखले र कप्तान दीपेन्द्रले अविजित रहँदै समान २४ रन बनाए ।
लिन रिटायर अर्ट भएपछि १८औं ओभरको सुरुमा क्रिजमा गएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै १४ बल खेल्दै २ छक्का प्रहार गरे । आरिफले १६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन जोडे ।
बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १(१ विकेट लिए ।


















