Prakash Adhikari December 5, 2025
काठमाडौँ, १९ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक आह्वान गर्नुभएको हो ।
बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा केन्द्रित रही छलफल भएको थियो ।
बैठकमा नेपाल सरकारका मन्त्रीहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी हुनुभएको थियो ।
बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय, सुरक्षा निकायका प्रमुखसमेत सहभागी हुनुहुन्थ्यो ।
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।
निर्वाचनका लागि आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । निर्वाचनमा भाग लिन भनी आयोगमा निवेदन दिएका दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइसकेका छन् ।
निर्वाचनको  वातावरण बलियो बनेको दावी 
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूर्ण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो, “संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरणको सुनिश्चित भएको छ ।”
यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय हुँदै आएकामा निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको बैठक र छलफलले निर्वाचनको माहोल बनेको उहाँको भनाइ छ ।
मन्त्री खरेलले सरकारका तर्फबाट खासगरी संयुक्त सुरक्षाको कार्ययोजना र रणनीति तयार गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै यसैमा केन्द्रित रहेर सम्भावित सुरक्षा चुनौती र व्यवस्थापकीय सरोकारबारे गहन ढङ्गले छलफल भएको बताउनुभयो ।
“विगतका निर्वाचनहरूमा जेजस्ता चुनौतीहरू देखिएका थिए, ‘फेक न्यूज’, ‘मिस इन्फरमेसन’, ‘डिसइन्फरमेसन’बारे खुलेर कुराकानी भएको छ”, उहाँले भन्नुभयो, “यी सवालमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा चुनौतीको सामना गर्ने तयारी तथा निर्वाचनको सुरक्षाको सम्पूर्ण वातावरण बनाउन सरकारको प्रतिबद्धता पनि आएको छ । केही दलले सुरक्षालगायतको वातावरण बनाउन चासो देखाएका छन्, सरकार त्यसप्रति सचेत छ ।”
मन्त्री खरेलले पछिल्लो समय सरकारले निर्वाचनको वातावरणका लागि संवादलाई निरन्तरता दिएको, जनता उत्साहित भएको र राजनीतिक दलहरू पनि निर्वाचनको माहोल बनाउन केन्द्रित रहेको बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले जेनजी सहिद र घाइते परिवारको सरोकारका विषयलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको सन्दर्भमा आज सरकार, प्रमुख राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूबीच संयुक्त बैठक भएको हो ।
Share Now