Prakash Adhikari December 6, 2025

काठमाडौं, २० मंसिर । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भईरहेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससमक्ष १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रनको योगफल तयार बनाएको छ।

सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका ३ छक्काको मद्दतले अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३५ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३८ रन जोड । तेस्रो विकेटका लागि इशान पाण्डे र आरिफ शेखले ७२ रनको साझेदारी गरेका थिए ।

खेलमा ओपनर जोश ब्राउनले २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले १९ रन र विनोद भण्डारीले १५ रन जोडे ।

सुदूरपश्चिमलाई रोक्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर मात्र बलिङ गरेका प्रतिश जिसीले ४ रन खर्चेर २ तथा बसिर अहमदले १ विकेट लिए ।

सुदूरपश्चिम र विराटनगर दुवैले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिमले शीर्ष स्थान नै सुरक्षित गर्दै पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ । अब यो खेलको नतिजापछि सुदूरसँग पहिलो क्वालिफायर खेल्ने टोलीको पनि टुङ्गो लाग्नेछ । सुदूरले दिएको लक्ष्य १३ ओभरमा पूरा गरेमा विराटनगरले काठमान्डु गोर्खाजलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने छ र सुदूरसँग पहिलो क्वालिफायर खेल्नेछ । अन्यथा काठमान्डु नै दोस्रो स्थानमा रहेर सुदूरसँग पहिलो क्वालिफायर खेल्नेछ ।

Share Now