काठमाडौँ, २३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ ।
आज सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पराजित विराटनगरले भने ‘इलिमिनेटर’ खेल्ने मौका पाउनेछ ।
सुदूरपश्चिमले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । जसमा फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन जोडे पनि हार टार्न सकेनन् ।
विराटनगरलाई रोक्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले दुईरदुई विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनायो । सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । यस्तै, आसिफ शेख र शेरडोन ज्याकसनले समान २०र२० रन जोडे । यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे ।
यता बलिङतर्फ विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुईरदुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एकरएक विकेट लिए ।
टस जितेको विराटनगरले खेलाडीको क्षमतामा मात्रै ध्यान दियो ।मैदानको अवस्थालाई चटक्कै बिर्सियो । कीर्तिपुरको मैदानमा रातमा शीत मात्र हैन, तुसारो जमेर बरफ हुने गरेको भिडियो नै सार्वजनिक भईरहेको छ । मैदानमा शीत परेपछि बल चिसो हुन्छ र ब्याटमा ठोक्किदा चिप्लिन्छ । सही दिशा लिन सक्दैन । विराट नगरले सुरुका दुई ओभरमा तीन विकेट गुमाउनुको कारण यही थियो । त्यसपछि पनि विकेट झर्न रोकिएन । शीतले ओसिलो बनेको मैदानका कारण विराटनगरका न विदेशी खेलाडीले राम्रो गर्न सके न स्वदेशी खेलाडीले ।


















