कीर्तिपुर(काठमाडौं), २४ मंसिर । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।
हिजो अपरान्ह सम्पन्न सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा विराटनगरको ब्याटिड. इनिड. कीर्तिपुरमा परेको शीतले प्रभावित भएको देखियो । शीत परेपछि बल ओसिलो हुन्छ र ब्याटरले हानेको बलले सही दिशा र गति लिंदैन । विराटनगरका विदेशी र स्वदेशी सबै ब्याटरहरु शीतको शिकार भए । नामी विदेशी खेलाडी खेलाएको विराटनगरले २० ओभरको खेलमा १०० रन पनि बनाउन सकेन ।
टस हारेर पनि सुदूरपश्चिमले भने ओभानो ग्राउण्डमा ब्याटिड. गर्न पायो । उसका सबै ब्याटरहरुले ओभानो ग्राउण्डमा ओभाने बल र ओभानो ब्याटले हिर्काउन पाए र सोचेको जस्तो परिणाम पनि आयो । शीर्ष ब्याटरहरुको विकेट गुमे पनि उसले १ सय ५५ रन बनायो ।
–––


















