Prakash Adhikari December 10, 2025

जेनेभा, २३ मङ्सिर (रासस/एएफपी): अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर्ब २० करोड यात्रु ढुवानी गर्ने अनुमान गरिएको छ, जसले नयाँ कीर्तिमान स्थापित गर्नेछ ।

सङ्गठनले सन् २०२५ मा विमान कम्पनीहरूले तीन हजार नौ सय ५० करोड रुपैयाँ बराबरको आम्दानी गर्ने प्रक्षेपण गरेको छ, र सन् २०२६ मा पनि करिब चार हजार १०० करोड रुपैयाँ बराबरको मुनाफा रहने अपेक्षा राखिएको छ ।

उपकरण आपूर्ति शृङ्खलामा देखिएका अवरोध, विश्वव्यापी राजनीतिक तनाव, सुस्त हुँदै गएको व्यापार र राष्ट्रहरूले थपेका कडा नियमजस्ता चुनौतीका बीच पनि राम्रो सुधार देखिएको महासचिव विलि वाल्शले बताउनुभयो । उहाँले विशेषतः हवाई मालसामान ढुवानीको सुधरिएको अवस्थाले विमान सेवाको समग्र आर्जनमा ठुलो योगदान पु¥याएको उल्लेख गर्नुभयो । साथै, क्षेत्रगत आम्दानी फरक–फरक रहेको बताइएको छ ।

यस वर्ष यात्रु सङ्ख्या पनि उच्च रहने अपेक्षा गरिएको छ, जुन सन् २०२५ मा करिब चार अर्ब ९८ करोड पुग्नेछ, र यो २०२४ को चार अर्ब ७७ करोड यात्रुको अघिल्लो कीर्तिमानभन्दा धेरै हो ।

Share Now