काठमाडौँ, २७ मङ्सिरः एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।
दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो । श्रीलङ्काले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो ।
आजको खेलमा नेपाली टिम पुरै निराश देखियो । कप्तान र प्रशिक्षकले ५० ओभरको खेलमा कसरी टिक्ने भन्ने सिकाउन जरुरी देखियो । एक दिवसीय खेलमा टिक्ने काइदा भनेकै राम्रा बलमा मात्रै चौकाको प्रयास गर्ने, आफूभन्दा बलियो टिम छ भने भरसक छक्का हिर्काउदै नहिर्काउने, बलले उपयुक्त गति लिएको छ भने एक दुई रन लिने हो । एक ओभरमा एक चौकाको लक्ष्य लिने हो भने ५० ओभरका दुई सय रन कटाउन कठिन हुँदैन ।
समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बङ्गलादेशसँग खेल्नेछ । यही मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।


















